काठमाडौं । काठमाडौं महानगरपालिका १६, नयाँ बजारस्थित फलफूल चोकमा नीलकुमारी क्षेत्रीको घरमा ग्यास खोल्दा ‘लिक’ भएर बिस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार ग्यास खोल्दा लिक भएर बिस्फोट भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बिस्फोटबाट क्षेत्रीको चारतले घर ध्वस्त भएको छ भने अन्य १० वटा घरमा क्षति पुगेको छ । क्षेत्रीको घरसँगै अन्य घर पनि जोडिएकाले क्षति भएको हो । किरियापुत्री बसेका क्षेत्रीको घरका तीनजना घाइते छन् । अरु घाइते छिमेकी भएको बताइएको छ ।
एसएसपी ज्ञवालीले भने, “चारतले घरको दोस्रो तलमा रहेको भान्सामा रहेको सिलिन्डर बिस्फोट भएको हो । केही पकाउन खोज्दा लिक भएर बिस्फोट भएको हो कि भन्ने कुरा आएको छ । हामी घटनाको अनुसन्धानमा जुटेका छौं ।”
परिसर काठमाडौंका एसपी सोमेन्द्र राठौरले घरमा एउटा मात्रै सिलिन्डर थियो वा अरु थिए खुल्न सकेको छैन । यसबारे आफन्त होसमा आएपछि मात्रै थप खुल्ने एसपी राठौरले बताए ।
घटनामा घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छिमेकीहरुले भने भान्सामा चार वटासम्म ग्यास सिलिन्डर भएको हुनसक्ने आकलन गरेका छन् । बिस्फोटपछि सो क्षेत्रका स्थानीय त्रसित बनेका थिए । सिसा फुट्दा बाटोमा हिँडिरहेकाहरुलाई पनि चोट लागेको छ ।