पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले औपचारिक रुपमा सभा सम्मेलनमा रोक लगाइएको बताउँछन् । ‘कार्यक्रम नगर्न भन्दाभन्दै पनि मान्नु भएन,’ कान्तिपुरसँग प्रजिअ तामाङले भने, ‘कुनै पनि हालतमा सभा सम्मेलन गर्न नदिन प्रहरीलाई निर्देशन दिइएको हो, त्यसपछि के भयो मलाई जानकारी भएन ।’ पार्टी प्रवेश कार्यक्रमका लागि निर्माण गरिएको पण्डाल बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो । नेताहरुको सुरक्षा र स्कर्टिङका लागि सुरक्षाकर्मी परिचालन भएका थिए ।
केन्द्रीय नेता मञ्चमा मास्क र हातमा पञ्जा लगाएर आसन ग्रहण गरेका थिए ।करिब एक हजार व्यक्तिले पार्टी प्रवेश गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं जसपाका वरिष्ठ नेता बाबुराम भट्टराई, पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादव, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, राजेन्द्र श्रेष्ठ, पर्साका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदको उपस्थिति रहेको थियो । बिहान सखुवाप्रसौनी गाउँपालिकाको औराहामा र दिउँसो महुवनमा पार्टी प्रवेश कार्यक्रम भएको हो । कार्यक्रमस्थलमा आयोजक कमिटिले ‘भौतिक दूरी कायम गरी बसौं । मास्कको प्रयोग गरौं । साबुन पानीले हात धौऔं ।’ लेखिएको सूचना टाँस गरेको थियो ।
मन्तव्यको क्रममा माइक समाउने बेलामा हात र माइकमा सेनिटाइजर लगाउने गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा उपस्थित कतिपयले भने मास्क लगाएका थिएनन् । भौतिक दूरीसमेत कायम गरिएको थिएन । नेता भट्टराई र कार्यकारणी अध्यक्ष यादवले नवप्रवेशीलाई माला लगाएर स्वागत गरेका थिए ।कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले अबको लक्ष्य आउँदो निर्वाचनमा सिंहदरबारको कुर्सी कब्जा भएको बताएका थिए । भट्टराईले भने, ‘कुर्सी कब्जा भएपछि संविधान संशोधन र विकासको रोडम्याप लागू हुन्छ ।’
पूर्व उपप्रधानमन्त्री एवं पार्टी कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले विकास बजेट र राजनीतिक नियुक्तिमा अझै भेदभाव कायमै रहेको औंल्याए । ‘भेदभाव अन्त्यका लागि शक्ति आवश्यक छ,’ उनले भने, ‘हामी जति संगठित हुन्छौँ त्यत्ति नै हाम्रो शक्ति बढ्छ, त्यो शक्ति भनेकै पार्टी हो ।’ देशमा नयाँ प्रणालीको सुरुवातका लागि निरन्तर संघर्षको आवश्यकता छ । ‘अधिकारको लडाइँ बाँकी नै छ,’ उनले भने, ‘पाएको उपलब्धि जोगाएर, लडाई जारी राख्नु छ, हाम्रो लडाइँ भेदभाव खत्तम गर्ने लडाइँ हो ।’भूषण यादव |ekantipur.com