अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडका चर्चित नामविरुद्ध समाजिक सञ्जाल र मेनस्ट्रिम मिडियामा योजनाबद्ध प्रचार सुरु भयो।यो लगत्तै लागू औषधमाथि अनुसन्धान शुरु भयो। यो जाँचमा पनि धेरै चर्चित कालाकारमाथि आक्रमण सुरु भयो। यसरी एकतर्फी रुपमा खेदाइ सुरु भएपछि बलिउडकर्मीहरू अदालतको साहारा लिन पुगेका छन्। चौतिस फिल्मकर्मीहरुले केही सञ्चार माध्यमविरुद्ध दिल्ली हाइकोर्टमा सार्वजनिक निवेदन दिएका छन्।
उनीहरुले १२ अक्टुबरमा दिल्ली हाइकोर्टमा सिभिल केस दर्ता गराएका हुन्। चार बलिउड उद्योग र चौतिस टप कलाकारहरुले अदालतको ढोका ढकढक्याएका हुन्। अर्णब गोस्वामीको रिपब्लिक टिभिसहित टाइम्स नाउसम्मले प्रशारण गरेका सामाग्रीहरु अपमानजनक र समाजमा हेट स्पिच पैदा गर्ने भएको जिकीर गरिएको छ।
यसरी अदालत पुग्नेमा शाहरुख खानको रेड चिल्लिज, सलमान खान फिल्म्स, आमिर खान प्रोडक्सन, अजय देवगन फिल्म्स, करण जोहरको धर्मा प्रोडक्सन र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्टलगायत छन्। उनीहरुको सामुहिक याचिकामा बलिउडकर्मीविरुद्ध षड्यन्त्र गरिएको र गलत प्रचार गर्दै ड्रग्सदेखि नराम्रा कामसम्मको आपत्तीजनक टिप्पणी भएको जिकीर गरिएको छ।
उनीहरुको निवेदनमा संचार माध्यमले आफ्ना यी टिप्पणी फिर्ता लिनुका साथै माफी पनि माग्नुपर्ने र आइन्दा प्रकाशन र प्रशारण नगर्नू भनी आदेश जारी हुनुपर्ने जिकीर गरिएको छ। उनीहरुले आफूहरुमाथि मिडिया ट्रायल भइरहेकाले यो रोक्नुपर्ने जिकीर गरेका छन्। केही सञ्चार माध्यमले बलिउडबाट यस्ता हर्कत अन्त्य गर्नुपर्ने भन्दै चर्चित अभिनेताहरुको नाम समेत जोडेर गलत प्रचार गरेको उनीहरुको निवेदनमा उल्लेख छ।
यो निवेदनको प्रारम्भिक सुनुवाई हुन बाँकी नै रहेको छ। धेरै बलिउडकर्मीहरुले मिडिया ट्रायल भइरहेको भनी आलोचना गरिरहेको समयमा एकजुट भएर फिल्म उद्योगका चर्चित हस्तिहरू एकै पटक अदालत गएका हुन्।