वीरगंज। फेसबुकसँगको सहकार्यमा वल्र्डलिंकले नेपालमा एक्सप्रेस वाइफाई सेवा सुरु गरेको छ । वल्र्डलिंक र फेसबुकले नेपालका ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई दिन थालेको हो ।बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत वल्डलिंकले फेसबुकसँगको सहकार्यको विषयमा आधिकारिक रूपमा जानकारी गराएको हो । फेसबुकले उपलब्ध गराउँदै आएको एक्स्प्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा उपलब्ध गराइने वल्र्ड लिंकले जनाएको छ ।
फेसबुकले एक्स्प्रेस वाईफाईका लागि विभिन्न देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्दै आएको छ । त्यसमा हाललाई एसियाका भारत र नेपालमा मात्र यस्तो सेवा यो सेवा उपलब्ध हुने बताइएको छ । दुई कम्पनीबीचको सहकार्यबाट नेपालमा सस्तो, भर पर्दाे र उच्च गतिको पब्लिक वाइफाई प्रदान हुने दाबी गरिएको छ । यसका लागि फेसबुकले वल्र्डलिंकलाई आवश्यक पूर्वाधार तथा सामग्रीसमेत उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले नेपालमा फ्री वाइफाई दिन थालेको दुई÷तीन वर्ष भइसकेको भन्दै कम्पनीका सीईओे यो सहकार्यबाट त्यसमा थप सहयोग पुग्ने बताए ।वल्र्डलिंकको वाइफाई प्रोजेक्टका म्यानेजर पुनित मानन्धरले हाल देशभर १० हजार साइटमा पब्लिक वाइफाई उपलब्ध गराइएको जानकारी दिए । जसलाई पनि जहाँ पनि जुनसुकै समयमा पनि कनेक्ट गराउने भिजनका साथ यो परियोजना सुरु गरिएको उनले बताए ।
१० हजार साइटमा ७ हजार ५ सय साइटमा फेसबुकको एक्सप्रेस वाइफाईबाट सेवा दिइरहेको जानकारी दिँदै मानन्धरले एकपटक कम्पनीको नेटवर्कमा कनेक्ट भइसकेपछि अबको समयमा कम्पनीको वाइफाई भएका सबै ठाउँमा स्वचालित रूपमा कनेक्ट हुने बताए ।
प्रयोगकर्ताले कम्पनीको पब्लिक वाइफाईमा कनेक्ट हुन् आफ्नो मोबाइल नम्बर राखिसकेपछि कोड प्राप्त हुने र त्यसबाट सजिलै रजिस्टर गर्न सकिनेछ । देशका ३० हजार ठाउँमा यो फ्री वाइफाई विस्तार गर्ने योजना वल्र्डलिंकले बनाएको छ ।
कम्पनीले इन्टरनेट नपुगेका स्थानलाई प्राथमिकतामा राख्दै फ्री वाइफाई विस्तार गर्ने जनाएको छ । लोकल नम्बर नरहेका व्यक्तिले समेत ह्वाट्सएप नम्बर राखेरै फ्री वाइफाईमा कनेक्ट हुन पाउने बताइएको छ ।
एक्सप्रेसका लागि फेसबुकले वर्लडलिंकलाई क्लाउडमा आधारित सफ्टवेयर सिस्टम उपलब्ध गराएको छ । विश्वका आधा जनसंख्यामा अझै इन्टरनेट पहुँच पुग्न नसकेको भन्दै फेसबुकका करन खराले फेसबुकले एक्सप्रेस वाइफाईको अवधारणा अघि बढाएको बताए ।
वल्र्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले सुरुवाती समयदेखि नै नेपाली जनतामा कनेक्टिभिटी उपलब्ध गराउने सन्दर्भमा अग्रसरता देखाएको बताए । लामो समयदेखि सरकारले नेपालका इन्टरनेट सेवा प्रदायकलाई फ्रिक्वेन्सी नदिएको गुनासो गरे ।
वल्र्डलिंकका प्रमुख प्राविधिक अधिकृत समित जनका अनुसार वाइफाई नेटवर्कलाई आधुनिक बनाउन आवश्यक पूर्वाधार फेसबुकले उपलब्ध गराउनेछ । उनले भने, ‘एक्सेस प्वाइन्ट, नेटवर्क र ब्यान्डविथ वल्र्डलिंककै हुनेछ र फेसबुकले त्यसका लागि सफ्टवेयर प्लेटफर्म उपलब्ध गराउनेछ ।’
वान टाइम पासवर्ड बारम्बार राखिरहनुपर्ने हालको बाध्यतालाई समेत यो नयाँ सहकार्यले अत्य गरिदिएको छ । फ्री वाइफाई सेवाका लागि स्थानअनुसार १५ मिनेटदेखि २ घण्टाको सीमा हुनेछ । तर, सीमित अवधि सकिएपछि पनि वाइफाई इन्टरनेट प्रयोग गर्न सकिने समित जनले जानकारी दिए ।
नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले फ्रिक्वेन्सी पाएको खण्डमा देशभर दैनिक २ घण्टा निःशुल्क इन्टरनेट दिने बताएको छ । उनका अनुसार फ्रिक्वेन्सी उपलब्ध भएमा निःशुल्क इन्टरनेट हरेक डिभाइसमा दैनिक २ घण्टासम्म निःशुल्क इन्टरनेट दिइनेछ । निम्न वर्गका प्रयोगकर्तासम्म पुग्ने कम्पनीको लक्ष्यअनुरूप नै आफूहरूले फ्री वाईफाई परियोजना सुरु गरेको अध्यक्ष अग्रवालको भनाइ छ ।
नियामकको निर्देशिकाअनुरूप वाईफाई सेवा सुरक्षित बनाइएको कम्पनीले जनाएको छ । वल्र्डलिंकले टाइम र भोलुमको आधारमा फ्री वाइफाई उपलब्ध गराउँदै आएको छ । कम्पनीका प्रमुख प्राविधिक अधिकृत समित जनले यो परियोजनाले नेपालमा डिजिटल डिभाइडलाई कम गर्न योगदान पु-याउने विश्वास व्यक्त गरे ।