वीरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जाने क्रम बढेको भन्दै श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला–होला जस्ता भएमा मात्रै अस्पताल जान आग्रह गरेको छ।
बुधबार मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले भने, ‘सामान्य रुघाखोकी लाग्दैमा ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेको छ। कुनैपनि बिरामीलाई श्वासफेर्न गर्न गाह्रो भएमा बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा त्यस्तो अवस्थामा मात्र अस्पताल जान हामी यहाँहरुलाई अनुराेध गर्दछौँ।’
मन्त्रालयले यही स्तरमा कोरोना संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरुले भार थाम्न नसक्ने बताएको छ।प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय काठमाडौँ उपत्यकाका अस्पतालहरुमा बेडको अभाव हुँदै गएको बताए। काठमाडौँमा संक्रमितहरुको व्यवस्थापन गर्न थप चुनौती देखिएको उनको भनाइ छ।
पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसहरुको भीडले संक्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सतर्कता अपनाउन उनले आग्रह गरे।साथै डा.गौतमले संक्रमितहरुको उपचार सरकारी र निजी दुवै अस्पतालहरुले गर्न आवश्यक रहेको पनि बताएका थिए।