वीरगंज | चिकित्सा शिक्षा सुधारको माग राखेर २४ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको जीवन जोखिममा पर्दासमेत वार्ताका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ।
संघले यसअघि डा. केसीका माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो। तर सरकारले त्यसको वेवास्ता गरेको भन्दै संघले विज्ञप्ति जारी गरेर बिहीबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ बाहेकका अन्य सेवा बहिष्कार गरी देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुको प्राङ्गणमा धर्ना दिने, बिहीबारदेखि संघका शाखा कार्यालयहरु, देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल लगायतका स्थानमा अर्को सूचना नआएसम्म कालो पट्टी बाँधेर रिले अनशन गर्ने संघले जनाएको छ।
यस्तै डा. केसीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराइएको अवस्थामा शुक्रबार एकदिनका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण सेवा पूर्णरुपले बहिष्कार गर्ने संघले जनाएको छ।
आन्दोलनबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार नेपाल सरकार हुने पनि संघले चेतावनी दिएको छ।