वीरगंज। अधिकांश व्यक्तिका लागि कोभिड-१९ को संक्रमण सामान्य लक्षण देखिन्छन् र केही दिनको उपचारपछि निको हुन्छ । तर, केही व्यक्तिहरु लामो समयदेखि कोभिड-१९ सँग लडिरहेका छन् । त्यस्ता व्यक्तिहरुलाई थकान लाग्ने, लगातार शरीर दुख्ने र महिनौंसम्म श्वासप्रश्वासमा समस्या हुने हुन्छ ।
यस्तो अवस्थालाई ‘लङ कोभिड’ भनिन्छ । यस्तो किसिमको अवस्था लामो समयसम्म रह्यो भने यसले मानिसको जीवनमा नकारात्मक असर पुर्याउँछ र छोटो दूरीमा हिँड्दा पनि धेरै थकाइ लाग्ने हुन्छ ।
हालसम्म, महामारीको समयमा जीवन बचाउनमा ध्यान केन्द्रित गरिएको छ । तर यसबाट मानिसहरुले दीर्घकालीन परिणामहरु भोगिरहेकोप्रति पनि ध्यान दिन आवश्यक छ । यद्यपि आधारभूत प्रश्नहरु उठेका छन् कि किन केही मानिसहरु ‘लङ कोभिड’ का सिकार भइरहेका छन् । के यस्ता व्यक्तिहरु पूर्णरुपमा निको हुन्छसक्छन् ?
के हो लङ कोभिड ?
लङ कोभिडको कुनै चिकित्सकीय परिभाषा र लक्षणहरुको सूची छैन । दुई लङ कोभिडका बिरामीहरुको पनि छुट्टाछुट्टै अनुभव छ । त्यसकारण लङ कोभिड यस्तै प्रकृतिको हुन्छ भनेर परिभाषित गर्न सकिएको छैन ।
यद्यपि, अधिकांश बिरामीलाई चाँडो थकान महसुस हुने भइरहेको छ । अन्य लक्षणमा श्वासप्रश्वासमा लामो समय समस्या हुने, खोकी लागिरहने, जोर्नीहरु दुख्ने, मांशपेशी दुख्ने, कान सुन्ने र आँखा देख्न समस्या हुने, टाउको दुखिरहने, स्वाद र गन्ध थाहा नहुने र अन्त्यमा मुटु, फोक्सो र किड्नीमा समस्या देखिने हुन्छ ।
त्यसैगरी केहीलाई मानसिक समस्या जस्तै डिप्रेसन, एङ्जाइटी र राम्ररी सोच्न सक्ने क्षमता ह्रास हुँदै जाने हुन्छ । यसले समग्र मानिसको जीवनशैली बर्बाद गरिदिने हुन्छ । एक संक्रमित जाडे ग्रेस क्रिस्टीले भनिन्, “मलाई पहिलेभन्दा निकै धेरै थकान महसुस हुन थालेको छ ।”
लङ कोभिड केवल आईसीयूमा राखेर उपचार गर्दैनमा निको हुने होइन । तुलनात्मक रूपमा हल्का संक्रमण भएकाहरूलाई पनि स्थायी र गम्भीर स्वास्थ्य समस्याहरु देखिन्छन् । “हामीले पक्कै पनि लामो समयसम्म कोभिड अस्तित्वमा रहेको पाएका छौं,” एक्सेटर युनिभर्सिटीका प्राध्यापक डेभिड स्ट्रेनले भने । उनी आफ्नो क्लिनिकमा ‘क्रोनिक थकान’ महसुस हुने लामो समयसम्म कोभिड संक्रमण रहेका बिरामीहरूलाई हेरिरहेका छन् ।
रोमको एक अस्पतालमा गरिएको अध्ययनमा सहभागी १४३ जना अध्ययनअनुसार उनीहरुले संक्रमणमुक्त भएको भनेर घर पठाइएपछि पनि लगातार बिरामीहरुलाई हेरिरहेका छन् । उक्त अध्ययनअनुसार करिब ८७ प्रतिशतलाई कम्तीमा लङ कोभिडको एक लक्षण कम्तिमा दुई महिनाभन्दा बढी समयदेखि रहेको पाइएको छ । आधाभन्दा बढीलाई भने अझै पनि थकान महसुस हुने भइरहेको छ ।
त्यसैगरी कोभिड सिम्पटम ट्र्याकर एपमार्फत करिब ४० लाख मानिसमा गरिएको सर्वेक्षणअनुसार करिब १२ प्रतिशतलाई ३० भन्दा बढी समयदेखि लक्षण रहेको पाइएको छ । करिब २ प्रतिशत व्यक्तिहरुलाई ९० दिनभन्दा लामो समयपछि पनि लङ कोभिड रहेको पाइएको छ ।