नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बाहेकको अर्को कुनै मन्त्री बन्न प्रस्ताव गरेसँगै पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटमा महासचिव पौडेललाई अर्थमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर दाहालले यो विषयमा कुनै प्रतिक्रिया नजनाएको स्रोतको दावी छ।
ओली नेतृत्वको सरकार पुनःगठन गर्ने तयारी भइरहेका बेला पाण्डेलाई अर्थ बाहेक अरु मन्त्री बन्न बालुवाटारबाट प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेपछि पौडेललाई अर्थमन्त्रालयमा ल्याउन सहज भएको छ ।
स्रोतका अनुसार पौडेलले अर्थमन्त्रालयमा जान दुई बर्ष अघिदेखिनै रुची जनाएका थिए । उपाध्यक्ष वामदेव गौतमले अर्थमन्त्रालयमा रुची जनाएपछि पौडेल पछि हटेका थिए । तर प्रधानमन्त्री ओलीले गौतमलाई अर्थमन्त्रालय दिन नचाहेको र आफ्नो ‘एसम्यान’ ल्याउन चाहेपछि पौडेललाई रोजेको स्रोतको दावी छ।
स्रोतका अनुसार पाण्डेलाई आइतबार प्रधानमन्त्रीकातर्फबाट वालुवाटारबाट फोन गरेर अर्को मन्त्रालय सम्हाल्ने गरी तयार रहन भनिएको थियो । तर पाण्डेले अर्थ पाए जाने नत्र नजाने भनेपछि ओलीले पाण्डेलाई अर्थमन्त्रालय नदिने महासचिवलाई प्रस्ताव गर्दा प्रचण्डको पनि सहमती रहने भन्ने बुझेर नै प्रस्ताव गरिएको स्रोतको दावी छ । महासचिव पौडेल वालुवाटार जग्गाकाण्डमा मुछिएका हाइप्रोफाइल नेता हुन् ।
यसअघि अर्थमन्त्री रहेका डा. युवराज खतिवडालाई मन्त्री सरहको हैसियत दिने गरी ओलीले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार नियुक्त गरेका थिए । उनले अर्थको जिम्मेवारी आफैँ लिने र ‘डिफ्याक्टो अर्थमन्त्री’का रुपमा खतिवडालाई काम गराउने तयारी गरेको चर्चा नेकपा वृत्तमा यद्यपी छ । ओलीले आइतबार नै मन्त्रिपरिषद गठन गर्ने गरी तयारी गरे पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिल्दा रोकिएको थियो ।