युट्युबमा गएर ‘नेपाली सर्ट मुभी’ टाइप गरियो भने त्यहाँ सयौंको संख्यामा भेटिन्छ । सन्देशमूलक, ज्ञानबद्र्धकदेखि लिएर यौन विषयमा आधारित सामग्रीहरू प्रशस्तै छन् । आफूलाई मन लागेअनुसार हेर्न सकिन्छ । ‘हरर’देखि लिएर ‘सिडक्टिभ’सम्मका सर्टमुभी छ्यापछ्याप्ती छन् । युट्युबमा सजिलै हेर्न सकिने सर्टमुभीमा युवाको आकर्षण उस्तै छ । नेपालमा बन्ने सर्टमुभीले यौन सामग्री मात्रै प्रस्तुत गर्यो भनेर बेला–बेलामा आरोप पनि नलाग्ने होइन । अश्लीलता नबढेको पनि होइन ।
तर, लामो फिल्मले धार बदलेजस्तै पछिल्लो समय सर्टमुभीका कथावस्तु पनि परिवर्तन भएको बताउँछन्, सर्टमुभीका कलाकार नवीन न्यौपाने ।‘एकेडेमी अफ मोसन आर्ट एन्ड साइन्स’ले सर्टमुभीलाई परिभाषित गर्दै भनेको छ, ‘यो खास तस्बिरहरूको गतिशीलता हो, जुन ४० मिनट वा त्यसभन्दा कम समयभित्रमा देखाइन्छ ।’ यस्ता मुभीहरू नेपालमा मात्रै नभएर विश्वभरि नै चर्चित छन् । यसका विभिन्न प्रतियोगिता पनि हुन्छन् । नेपालका सर्टमुभीले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने गरेका छन् ।
सर्टमुभीको लहर
लामा फिल्म र यस्ता सर्टमुभीहरू लगभग एकै समयदेखि निर्माण हुन थालेको मानिन्छ । विलियम डेभिड गारउड सर्टमुभी बनाउने एउटा प्रचलित नाम हो । सन् १८८४ मा जन्मिएका गारउडले झण्डै डेढ सयजति सर्ट र फिचर मुभी बनाएका थिए । त्यसपछि त सर्टमुभी बन्ने लहर नै आयो । कार्टुनदेखि कमेडी विषयलाई छोएर बनाइएका यस्ता मुभीले दर्शकलाई आकर्षित गरेका छन् । चार्ली च्याप्लिन, लाउरेल र हार्डी, बुस्टर किटनसमेतले सर्टमुभीमार्फत् दर्शकलाई मनोरञ्जन दिए । थोरै समयमा धेरै मनोरञ्जन लिन सकिने, आकर्षक कथावस्तु, उत्कृष्ट अभिनयका कारणले सर्टमुभीलाई धेरैले मन पराएका हुन् । नेपाली समाजमा सर्टमुभी हेर्नेहरूको जमात ठूलो छ ।
प्रविधिको उपलब्धता र सहज इन्टरनेटले यसलाई झनै बढावा दियो । सामान्य लगानीमा जसले पनि बनाएर खेल्न सक्ने भएकाले ठूला फिल्मको कलाकारजस्तो उनीहरू चर्चित हुँदैनन् । अभिनय गर्ने रहर भएका तर उपयुक्त मौका नपाएकाहरूका लागि यो क्षमता देखाउने उपयुक्त थलो हो ।नेपालमा सर्टमुभीमा देखिने अधिकांश कलाकार युवा पुस्ताका छन् । ठूला सिनेमा हेरेर कलाकार बन्ने मोह पालेका तन्नेरीहरू सर्टमुभीमार्फत् आफूलाई चिनाउने प्रयास गरिरहेको देखिन्छन् ।
अबका सर्टमुभीहरू उच्छृंखल बन्नु नहुने करिब पाँच वर्षदेखि सर्टमुभी खेलिरहेका प्रकाश भुजेल बताउँछन् । भन्छन्, ‘खेल्ने मात्र होइन, अहिले हेर्नेहरू पनि युवा नै धेरै छन् । त्यसैले, उच्छृखलभन्दा छोटो र सन्देशमूलक बनाउनु राम्रो ।’ अहिले बनिरहेका सर्ट मुभीहरूमा विकृति बढेको बताउँछिन्, निर्देशक दीपा बस्नेत । त्यसो त, उनी आफैंले पनि ‘भाँडो’ नामक सर्टमुभी निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । स्नातक दोस्रो वर्षमा अध्ययन गर्दैगर्दा बनाएको उक्त सर्टमुभीले ‘टोरन्टो इन्टरनेसनल फेस्टिभल २०११’ समेत जितेको थियो ।
बढ्दो आकर्षण
गौशाला, रातोपुल बस्ने नवीन न्यौपानेले करिब २५ वटा सर्टमुभी खेलिसकेका छन् । सानो छँदा टीभी र पछि युट्युबमार्फत् उनले यस्ता फिल्म हेर्न थाले । पहिले मनोरञ्जनका लागि मात्रै हेर्थे, अहिले अर्थ खोज्न थालेका छन् । ‘छोटो हुने भएकाले चाँडै सकिन्थ्यो । त्यतिबेला रमाइलोका लागि धेरै हेरियो,’ उनी भन्छन्, ‘यसरी हेर्ने मात्र होइन, अभिनयमा पनि आकर्षण बढ्दै गयो ।’ सर्टमुभीको कथावस्तुले दर्शकलाई छुने, छोटो समयमा नसोचेका घटनाहरू हुने (ट्विस्ट गर्ने) भएकाले पनि मान्छेहरू यतातिर आकर्षित भएझैं लाग्छ, उनलाई । भविष्यमा कलाकारितामै ‘करिअर’ बनाउन सजिलो होस् भनेर सर्टमुभीमा अभिनय गर्नेहरू बढेको उनको बुझाइ छ ।
कपन, बालुवाखानी बस्दै आएका अमृत भुजेलले अहिलेसम्म ६० वटाजति सर्टमुभी खेलिसकेका छन् । उनको पढाइ पनि ‘फिल्म स्टडिज’ नै हो । ‘ओस्कार’ कलेजमा पढ्दै गर्दा प्रोजेक्टकै रूपमा धेरै सर्टमुभी बनाए/खेले । न्यौपानेजस्तै सानैदेखि फिल्मतिर आकर्षित उनले सर्टमुभी मात्रै नभई ‘लालपुर्जा’जस्ता ठूला पर्दाका फिल्ममा पनि अभिनय गरिसकेका छन् । सिद्धार्थ सिमेन्टको प्रचारमा पनि उनलाई देख्न सकिन्छ । ‘सर्टमुभीमा धेरै समय दिनु नपर्ने भएकाले दिक्क लाग्दैन,’ न्यौपाने भन्छन्, ‘पहिले–पहिले मनोरञ्जनका लागि मात्रै हेरे पनि आफूले खेल्न थालेपछि यसले समाजको समस्यालाई पनि उठाउनुपर्छजस्तो लाग्न थाल्यो ।’
तन्नेरीहरू कतै यात्रा गर्दा होस् वा कसैलाई पर्खँदा, उनीहरू कानमा एयरफोन लगाएर यस्ता सर्टमुभी हेरिरहेका हुन्छन् । आरआर कलेजमा बीए पहिलो वर्षमा अध्ययनरत मनोज केसीले यस्ता सर्टमुभी हेर्न थालेको लगभग दुई वर्ष भयो । भन्छन्, ‘सर्टमुभी हुन्छ भन्ने त सुनेको थिएँ । तर, १०÷१२ मिनटको फिल्म पनि के मजा हुन्छ र जस्तो लाग्थ्यो । अहिलेचाहिँ मलाई सर्टमुभीहरू पनि लामा फिल्मजत्तिकै मन पर्छ,’ उनी भन्छन्, ‘फरच्युन टेलर, टी स्पुन, आर्ट अफ लभजस्ता सर्टमुभीहरू मलाई मनपर्नेमध्येमा पर्छन् ।’
सानो कथामा सन्देश
खासमा सर्टमुभीको अभिप्राय पनि थोरै समयमा धेरै कुरा भन्नु र दर्शकलाई मनोरञ्जन दिनु हो । केसी भन्छन्, ‘यसमा आफ्नो विचारलाई भिजुअलाइज गर्ने हो, जसमा छोटो अवधिमा धेरै कुरा भन्न सकिन्छ ।’ नेपालमा विद्यमान जात समस्यादेखि धनी र गरिबबीचको विभेदलाई लिएर थुप्रै सर्टमुभी बनाइएका छन् । समाजमा देखिएका समस्याहरूलाई उजागर गर्न सर्टमुभीले महŒवपूर्ण भूमिका निर्वाह गर्ने थापा बताउँछन् । विदेशीजस्तो नेपाली सर्टमुभीमा सिर्जनात्मकता नदेखिने केसीको आरोप छ ।
उनीहरूले स–साना कुरालाई पनि कलात्मक ढंगले प्रस्तुत गर्दा नेपाली छोटा सिनेमाले सही विषयवस्तु छान्न नसकेकोजस्तो लाग्छ, उनलाई । तर, केही सर्टमुभी प्रभाव पार्ने खालकै बनेको उनको भनाइ छ । भन्छन्, ‘राम्रो बनेकै छैन भन्ने त होइन तर अझै मेहनत गर्दा अहिलेको भन्दा उत्कृष्ट बन्छ कि भन्ने हो ।’ राम्रा सर्टमुभीले समाजका धेरै समस्या उजागर गर्न सक्ने निर्देशक बस्नेतको बुझाइ छ । यसले ठूला मुभीलाई असर नगर्ने उनी बताउँछिन् । भन्छिन्, ‘साना मुभीले धेरै विषयवस्तु ल्याउन सक्छन् तर सबै कुरा समेट्न सक्दैनन् । त्यसैले ठूला सिनेमाले कतिपय अवस्थामा सानाबाट पनि पाठ सिक्न सक्छन् ।’
यौन कुण्ठाको प्रदर्शन
सर्टमुभीमा ‘छाडापन’ धेरै भयो भनेर बेलाबेला सुन्नमा आउँछ । यस्तो प्रवृत्ति नेपाली सर्टमुभीमा मात्र पाइन्छ भन्नेचाहिँ होइन । पश्चिमा समाजमा पनि हाम्रा लागि असहज हुने सर्टमुभी धेरै बन्छन् । यौनलाई केन्द्रमा राखेर बनाइएका नेपाली सर्टमुभीहरू पछिल्लो समय छ्याप्छ्याप्ती भेटिनुका साथै युट्युबमा ‘भ्युअर’ बढाउनकै लागि अश्लील शब्द तथा तस्बिरको समेत प्रयोग हुन्छ । यौन युवापुस्तामा रोजाइको विषय हुने भएकाले पनि यस्ता सामग्रीहरू धेरै बिक्छन् ।
१०/१५ मिनटको सामग्रीमा संवाददेखि लिएर प्रस्तुत हुने पात्रको ध्यान पनि ‘सेक्स’मै मात्र केन्द्रित हुन्छ । यसले सर्टमुभीको सौन्दर्यमा असर गरिरहेको छ । कतिपय सामग्री त आफन्तहरूको छेउछाउमा बसेर हेर्न पनि गाह्रो हुन्छ । सहजताको फाइदा उठाएर अश्लीलताको व्यापार भइरहेको छ । युट्युबबाट पैसा कमाउनका लागि कतिपयले यस्ता सामग्री बनाउने गरेको बताउँछन्, भुजेल ।
आफूलगायत आफ्नो साथीसर्कलले यस्तो असहज हुने खालको फिल्म अहिलेसम्म नबनाएको बताउँछन्, उनी । ‘युट्युबमा भल्गर सर्टमुभीहरू धेरै पाइन्छन् । यो अलि गैरजिम्मेवार मान्छेहरूले मनोरञ्जनका लागि मात्रै बनाए,’ उनी भन्छन्, ‘हामीले अलि सिर्जनात्मक भएर सोच्नुपर्छ ।’तर, पछिल्लो समय यस्ताखाले ‘सिडक्टिभ’ फिल्म बन्न अलि कम भएजस्तो लाग्छ न्यौपानेलाई । फिल्मले समाजको समस्यालाई उजागर गर्न सक्नुपर्ने बताउँछन्, उनी । राम्राखाले सर्टमुभीहरू बनाउन सकियो भने नेपाललाई फिल्मबाट विश्वमा चिनाउन सकिने उनको बुझाइ छ ।