जनकपुरधाम । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न भन्दै गरिएको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको जनकपुरस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ ।
१ असोजदेखि नै मन्दिर खुला गरिए पनि दर्शनार्थीको संख्या भने न्यून देखिएको छ । मन्दिर खुलेसँगै पूजा सामग्री तथा फलफूल मिठाईका पसल खुलेका छन् । दर्शानार्थीले सामाजिक दूरी पालना नगरेको, मास्क नलगाएको पाइएको छ ।
कोरोनाका कारण भारतसँगको सीमानाका बन्द, सार्वजनिक यातायातका सवारीसाधन धेरै सञ्चालनमा नआएको तथा स्वदेशी तथा विदेशी धार्मिक पर्यटक उल्लेख्य संख्यामा नआएको स्थानीय बताउँछन् ।
यसअघि कोरोना महामारीकै बीचमा एकपटक जानकी मन्दिर खुला गरिएको थियो, तर पछि स्थानीय प्रशासनले बन्द गराएको थियो । सर्वसाधारणका लागि मन्दिर बन्द गरिए पनि नियमित पूजापाठ भने हुँदै आएको थियो ।