पेचिङ (चीन) । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको अमेरिकी व्यवसाय बहुराष्ट्रिय कम्प्युटर प्रविधि कम्पनी ओर्याकललाई विक्री गर्ने सम्झौता चीनले अनुमोदन नगर्ने बताइएको छ । अमेरिकी घरेलु खुद्रा कम्पनी वालमार्ट इंकसँग मिलेर ओर्याकलले टिकटक यूएस किन्ने खोजेको छ । तर सम्झौता निष्पक्ष नभएकोले चीनले यसलाई अनुमति नदिने चीनको अंग्रेजी भाषाको सरकारी पत्रिका ग्लोबल टाइम्सको सम्पादकीयमा भनिएको छ ।
ओर्याकल र वालमार्ट दुवैले राष्ट्रपति डोनल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई साम्य बनाउन अमेरिकी स्वामित्व धेरै रहनेगरी टिकटक ग्लोबल किन्न खोजेको छ । तर टिकटकको मातृ कम्पनी चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले भने सो कम्पनीमा आफ्नो ८० प्रतिशत स्वामित्व रहने बताएको छ । सम्झौताका शर्तहरूले अमेरिकाको डर धम्की देखाउने शैली र गुण्डागिरीयुक्त तर्कलाई देखाएको र यसले चीनको राष्ट्रिय सुरक्षा, हित र गरिमालाई चोट पु¥याएको सोमवारको संस्करणको सम्पादकीयमा भनिएको छ ।
‘अमेरिकाले अहिलेसम्म दिएको जानकारीअनुसार सम्झौता निष्पक्ष छैन र यसले अमेरिकाको तर्कहीन माग मात्रै पूरा गरेको छ । यस्तो खालको सम्झौता चीनले अनुमोदन गर्छ भन्ने विश्वास गर्न हामीलाई गाह्रो भइरहेको छ,’ सम्पादकीयमा बताइएको छ । सम्झौताको विवरणहरूबारे चीन सरकारले केही पनि बताएको छैन । यद्यपि, त्यहाँको विदेश मन्त्रालयले भने अमेरिकाले विदेशी कम्पनीका लागि निष्पक्ष र भेदभावरहित वातावरण दिनुपर्ने बारम्बार दोहो¥याउँदै आएको छ । सम्झौतालाई चीन र अमेरिका दुवै देशका नियामकहरूले अनुमोदन गर्नुपर्नेछ ।
टिकटकमा बाइटडान्सको नियन्त्रण रहेसम्म आफूले सम्झौता अनुमोदन नगर्ने फक्स न्यूजसँगको अन्तरवार्तामा सोमवार ट्रम्पले बताएका थिए । कम्पनीमा बाइटडान्सको कुनै पनि सरोकार हुन नहुने र यसमा ओ¥याकलको पूर्ण नियन्त्रण हुनुपर्ने ट्रम्पको भनाइ छ । उनको यो अभिव्यक्तिलगत्तै सम्पादकीय आएको हो । टिकटकको अमेरिकी व्यवसाय डाइभेष्ट नगरेदेखि एपमाथि प्रतिबन्ध लगाइने ट्रम्पको धम्कीका कारण बाइटडान्स दबाबमा छ । टिकटक ग्लोबलको मूल्यांकनको विषयमा पनि अमेरिका र चीनबीच मतभेद चलिरहेको छ । एजेन्सी