वीरगंज | नेपाल आयल निगमले पेट्रोलमा मिसावट गर्ने चार ट्यांकरका चालकलाई पहिलोपटक कालोबजारी ऐनअनुसार गर्न कारबाही गर्न सिफारिस गरेको छ । निगमको अमलेखगन्जमा तीन र थानकोट डिपोमा पेट्रोलमा हानिकारक पदार्थ मिसावट गरेको फेला परेपछि ती चारवटा ट्याकंरका चालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउन निगमले सिफारिस गरेको हो ।
यसअघि मिसावट गर्ने चालकलाई ६ महिनासम्म गाडी चलाउन निलम्बन र ट्यांकर मालिकलाई कारबाही गर्दै आएकोमा अहिले चालकलाई कालोबजारी ऐनअनुसार कारबाही गर्न सिफारिस भएको हो । सिफारिसअनुसार अब जिल्ला प्रशासन कार्यालयले ती चालकहरूलाई कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता गर्नेछ । मिसावट गर्ने चालकलाई जरिवाना र जेल सजायसमेत हुनेगरी पहिलोपटक कारवाही सिफारिस गरिएको निगमका प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए ।
निगमका अनुसार पेट्रोेलमा मिसावट गर्ने चारवटा ट्यांकरका चालकलाई कालोबजारी तथा केही अन्य सामाजिक तथा सजाय ऐनअनुसार कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । निगमका प्रवक्ता उपाध्यायले थानकोट डिपोमा मिसावट भेटिएको ट्यांकरका चालकलाई काठमाडौं जिल्ला प्रशासन तथा अमलेखगन्जमा भेटिएको मिसावट चालकलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय बारालाई पत्राचार गरिएको जानकारी दिए ।
उनका अनुसार यसअघि मिसावट गर्ने चालकलाई ६ महिनासम्म गाडी चलाउन निलम्बन गर्दै र ट्यांकर मालिकलाई कारबाही हुँदै आएकोमा अब टयांकर चालकलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुनेछ ।एक साताअघि पेट्रोल बोकेर बरौनीबाट आएका तीन वटा ट्यांकरको निगमको अमलेखगन्ज डिपोले गुणस्तर परिक्षण गरेको थियो । जसमा ढुवानीकर्ता बैकुण्ठ बलामी रहेकोे ना ७ ख ४०९३ ट्याकंंरको पाँच नम्बर चेम्बरमा ४ हजार लिटर पेट्रोलमा मिसावट भेटिएको थियो ।
ति ट्याकंरका चालक सन्तोष खड्कालाई बारा प्रहरीमा बुझाइएको छ । यस्तै, ढुवानीकर्ता रामचन्द्र मिश्र रहेको ना ७ ख ३९२३ नम्बरको ट्यांकरमा १२ हजार लिटर पेट्रोलमा मटीतेल जस्तो देखिने हानीकारक केमिकल मिसाएको पाइएको थियो । उक्त ट्यांकर राजेश विश्वकर्माले चलाएका थिए । उनलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ । यस्तै, सुरेन्द्र श्रीवास्तवको ना ७ ख १७५७ नम्बरको ट्याकंर मा रहेको १२ हजार लिटर पेट्रोलमा पनि मिसावट पाइएको निगमले जानकारी दिएको छ ।
मिसावटमा संलग्न उक्त ट्याकंरका चालक सञ्जीवकुमार लामा अहिले फरार छन् । यस्तै, थानकोट डिपोले गरेको गुणस्तर परीक्षणमा बरौनीबाट पेट्रोल लिएर आएको ना ४ ख ७२५६ नम्बरको ट्यांकरमा मिसावट पाइएको थियो । सो ट्यांकरका चालक तथा मालिक प्रमेशकुमार श्रेष्ठलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिफारिस गरिएको निगमले जानकारी दिएको छ ।