वीरगंज | विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।
योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए ।
स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारतलगायतका देशमा कोरोना संक्रमणदर सामान्य रूपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरूले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ४५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।
यस्तै विश्वभर १ लाख ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने तीमध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव ५ प्रतिशत छ ।