जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतलाई प्रहरीले खोजविन सुरु गरेको छ । संविधान दिवसमा असोज ३ गते “चलु जनकपुर, भरु जनकपुर” कार्यक्रमको घोषणा गरेका डा. सिके राउत जसरी पनि कार्यक्रममा सहभागी हुने दाबी गरिएको छ भने त्यसकै लागि सबैसँग सम्पर्कविहिन समेत भएको बताइएको छ ।
धनुषा प्रहरीले मँगलबार जनकपुरधामबाटै उनका राईट ह्याण्ड मानिने सत्यनारायण मण्डललाई उनको घरबाटै पक्राउ गरेको हो । दिउँसो सवा २ बजे मण्डललाई जनकपुर उपमहानगरपालिका–८ स्थित प्रहरी चौकी बलबाटोलबाट खटिएको सुरक्षाकर्मीले मण्डललाई उनको घरबाटै पक्राउ गरेको हो ।
राउतलाई पक्राउ गर्नका लागि प्रहरी टोली खटिएको भएपनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
यता, राउतलाई खोजी गर्नका लागि प्रहरीले विभिन्न होटेल तथा लजमा सर्च अभियान जारी राखेको छ भने बुधवार संविधानको विरोधमा ‘कालो दिवस’ मनाउन तथा शहीदलाई सम्मान स्वरूप श्रद्धान्जलि दिनका लागि विरोधसभा राउत सहभागी हुने बताइएको छ ।राउतका कार्यकर्ताले असोज ३ गते बुधबार गाउँ गाउँबाट समर्थक तथा सर्वसाधारणलाई ल्याएर जनकपुर भर्ने तयारी गरेको छ । ‘चलु जनकपुर भरु जनकपुर’ को नारा तीव्र पारेर जनकपुरमा बुधवार (भोली) राउतले शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।