वीरगंज। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा उत्साहपूर्ण काम भइरहेको दाबी गरेका छन् ।छैटौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा मन्तव्य दिँदै प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा सरकारले उल्लेख्य काम गरेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा पहिलो केस फेला पर्दा हङकङमा परीक्षण गर्न पठाउनुपरेको स्मरण गराउँदै अहिले मुलुकभित्र ४८ ठाउँबाट पीसीआर र आरडीटी परीक्षण भइरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले दुई हजार रुपैयाँ शुल्कमा कोरोना परीक्षण गरिराखिएको बताउँदै कुल जनसंख्याको दुई प्रतिशतको कोरोना जाँच गर्ने सरकारको लक्ष्य पूरा हुन लागेको पनि बताए ।
“डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो,” उनले भने, “तर कोरोना नियन्त्रणमा उत्साहपूर्ण प्रगति देखापरेको छ ।”
उनले कोरोनाका कारण अन्य मुलुकको आर्थिक अवस्था चौपट भए पनि नेपालमा त्यस्तो अवस्था नरहेको र असर पनि नपरेको दाबी गरे ।
उनले उपभोगीय वस्तुको पर्याप्त मौज्दात रहेको, मूल्यवृद्धि नियन्त्रणमै रहेको र व्यापार घाटा नबढेको पनि दाबी गरे ।