वीरगंज | योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकहरुलाई कोरोना संक्रमण भएमा उपचार खर्च कोषले नै व्यहोर्ने भएको छ। कोषमा सूचीकृत श्रमिकहरुमा कोरोना देखिएमा १ लाखसम्म उपचार खर्च कोषले व्यहोर्ने प्रवक्ता विवेक पन्थीले बताए।
कोरोना संक्रमित योगदानकर्ताले घरमै उपचार गराएमा कोषबाट वार्षिक २५ हजारसम्म भुक्तानी पाउने र अस्पतालमा भर्ना भएर उपचार गरेको अवस्थामा अधिकतम १ लाख रुपैयाँसम्म पाउने कोषले जनाएको छ।
तर यो सुविधाका लागि योगदानकर्ताले योगदान रकम जम्मा गर्न सुरु गरेको ३ महिना पुगेको हुनुपर्नेछ। कोषका प्रवक्ता पन्थीका अनुसार कोरोनाका कारण श्रमिकको मृत्यू भएमा मृतकका परिवारले आश्रित योजना अन्तर्गतको सुविधा समेत पाउनेछन्। कोषले ल्याएको यो योजनाअन्तर्गत ४ वटा क्षेत्र रहेका छन्।
यो योजनाअन्तर्गत पति वा पत्नीले पाउने निवृत्तीभरण, सन्ततिले पाउने शैक्षिक वृति, आश्रित बाबुआमाले पाउने सुविधा, अन्तिम संस्कार खर्च रहेको छ। हालसम्म कोषमा योगदानकर्ताले कोरोना उपचारका लागि दावी नगरेको कोषले जनाएको छ। आइतबारसम्म कोषमा १२ हजार ६ सय ७५ रोजगारदाता तथा १ लाख ७३ हजार ४ सय ६० श्रमिकहरु आबद्ध रहेको कोषले जनाएको छ।