असारको अन्तिम साता । सिरहाको लहान नगरपालिका १ मटियर्वाका १९ वर्षका रोशन रामको हत्या भयो । यो हत्यापछाडिको घटना जे छ, त्यो सुन्दा झट्ट विश्वास नहुन सक्छ । र, यति सानो विषयमा पनि कसैको हत्या होला भन्ने प्रश्न जन्मन सक्छ । तर, जसरी रामको हत्या भएको छ, त्यसले हाम्रो समाज कता तिर जाँदैछ भन्ने प्रश्न पनि उठाउँछ ।
रोशन राम लकडाउनमा साथीहरुसँग सीमावर्ती गाउँ पुगेका थिए । त्यहाँ उनी लागूपदार्थसहित पक्राउ परे । लागुपदार्थ किनबेच तथा ओसारपसार मुद्दामा उनी दोषी ठहर भए । २५ जेठमा जिल्ला अदालतले १० हजार धरौटी माग गर्यो । तर, रोशनसँग १० हजार थिएन । उनी पुर्पक्षका लागि जेल चलान भए ।
त्यहाँ उनी झन्डै एक महिना बसे । जेलमा बस्दा रोशनको दोस्ती भयो, जयकुमार यादवसँग । यादव रोशनको ससुराली गाउँ मिर्चैयाका थिए । त्यसैले यी दुईबीच छिटो दोस्ती जम्यो । एक महिना मात्र के भएको थियो, रोशनका बाबुले १० हजारको बन्दोबस्त गरे, रोशनलाई जेलबाट निकाले ।
त्यही जेल बसाइँमा रोशनले जयकुमारसँग ऋण लिएका थिए, एक हजार ।जेलबाट छुटेपछि जयकुमार पनि रोशनसँग भेट्न उनको गाउँ पुगे, अनि आफूले दिएको ऋण फिर्ता मागे । २६ असारको कुरा हो यो । भर्खर जेलबाट छुटेका रोशनसँग एक हजार थिएन । उनले जयकुमारलाई पैसा फिर्ता तत्काल गर्न सकेनन् ।
रोशनको परिवारले जयकुमारलाई केही दिनमा पैसा फिर्ता गर्ने वाचा गरेको थियो । तर, जयकुमारले रोशनलाई ससुराली घुम्न जाऔँ भनेर बाइकमा चढाए र त्यहाँबाट लगे । जयकुमारसँग थिए, मुकुन्द पनि ।रोशनको घरबाट गुडेको त्यो बाइक न उनको ससुराली पुग्यो, न रोेशन नै घर फर्किए । त्यही रात रोशनको हत्या भयो । कारण थियो– उनले एक हजार तिर्न नसक्नु ।
प्रदेश २ कै अर्को जिल्ला रौतहटमा पनि पछिल्लो समय हत्याका घटना निकै बढेका छन् । ३१ साउनमा निरन्जन रामको घाँटी रेटेर हत्या यसको उदाहरणका रुपमा लिन सकिन्छ । यो हत्यामा संलग्न भएको आशंकामा प्रहरीले विजय रामलाई पक्राउ गर्यो । तर, विजयको पनि हिरासतमा मृत्यु भयो ।
प्रदेशका यी दुई जिल्लामा यी तीन रामको मात्र होइन, अन्य हत्या पनि भएका छन् । प्रहरीकै एक तथ्यांकअनुसार पछिल्ला तीन महिनामा प्रदेश २ मा एक दर्जनभन्दा बढी दलितको हत्या भएको छ ।जेठ यता मात्र प्रहरीका १३ दलितको हत्याको उजुरी परेको छ ।
अनाहकमा आफ्ना प्रदेशका निहत्था नागरिकको हत्या हुन थालेपछि प्रदेश –२ सरकार पछिल्लो समय तातेको छ । यहाँसम्म कि दलितहरूको हत्याका विषयमा छानबिन गर्न समिति पनि गठन गरेको छ । मुख्यमन्त्रीले गरेको एक ट्वीटका प्रदेशका आन्तरिक मामिला मन्त्रीको संयोजकत्वमा प्रदेश सभाका तीनजना सदस्यसहितको समिति गठन गरिएको छ । समितिलाई सबै घटनाको छानबिन गरी प्रतिवेदन दिनलाई १५ दिनको समय दिइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले यस्ता हत्याले हाम्रो समाज कता तिर गइरहेको छ भन्ने सन्देश दिने बताउँछिन् । उनका अनुसार यी हत्या कानुनी शासनको उपहास हुन् । सप्तरीका दलित अगुवा भोला पासवानका अनुसार अहिले प्रदेश –२ दलित गर्ने प्रदेशको रुपमा बन्दै गएको छ । पछिल्लो समय प्रदेश २ मा सबैभन्दा बढी हत्या दलितको भइरहेको उनी बताउँछन् ।