विरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ११ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्। शुक्रबारको बैठक अर्थमन्त्री डा युवराज खतिवडाका लागि अन्तिम क्याबिनेट बैठक हुनेछ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले खतिवडालाई अहिलेसम्म भए गरेका काम कारबाहीको समीक्षात्मक टिप्पणीका लागि विशेष समय दिने तयारी गरेका छन्। त्यसमा खतिवडाले आफ्नो ३० महिने कार्यकालको समीक्षा गर्नेछन्।
खतिवडा बिहीबार बेलुका ६ बजेसम्म मन्त्रालयमा नै थिए। आज पेस भएका सबै फाइलको काम सकेर निस्किनुभयो, खतिवडाका एक सहयोगीले भने।
काठमाडौंको धुम्बाराहीमा निजी निवास भएका मन्त्री नियुक्त भएपछि उनी पुल्चोकस्थित मन्त्री निवास (क्वाटर)मा बस्ने गरेका थिए। मन्त्रीबाट बहिर्गमन हुने लगभग निश्चित भएसँगै खतिवडाले बिहीबार निजी निवासमा सामान सारेका हुन्।
मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर आफू राजीनामा दिन तयार रहेको बताएका खतिवडा आज राजीनामा दिन लागेका छन् ।
तर खतिवडाको व्यवस्थापन बालुवाटारमै हुने बुझिएको छ । राष्ट्रिय सभामा वामदेव गौतमको प्रवेश भएसँगै अर्थमन्त्री खतिवडा मन्त्रिपरिषद्बाट बाहिरिए पनि प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो मुख्य सल्लाहकार बनाउने तयारी गरेका छन् ।
त्यसका लागि उनले निकटस्थहरूसँग छलफल पनि थालेका छन् । बिहीबार बिहान खतिवडालगायतसँग भएको छलफलमा ओलीले केही समय अर्थ मन्त्रालय आफैंले राख्ने गरी खतिवडालाई मुख्य सल्लाहकार बन्न प्रस्ताव गरेका थिए ।
उक्त छलफलमा ओलीले नेकपाका अरू सांसद अर्थमन्त्री बन्न योग्य र विश्वासिलो नरहेको भन्दै मन्त्रालय आफैंले राख्ने तर्क गरेका थिए ।
त्यसमा खतिवडाले जवाफ दिइनसकेको स्रोतको भनाइ छ । खतिवडाले अबको अर्थमन्त्री को हुन्छ त भनेर प्रधानमन्त्रीलाई सोधेका भने थिए । त्यसपछि ओली आफैले लिन सक्ने या प्रदीप ज्ञवालीलाई पनि बनाउन सकिने बताएको स्रोतको भनाइ छ ।
खतिवडाले उनका निकटस्थहरूलाई बताएअनुसार अहिले उनलाई राष्ट्रिय सभामा निरन्तरता नदिने भूमिकामा ओलीकै सारथि महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको हात छ ।
लामो योगदान र संघर्ष गरेका व्यक्तिहरु पार्टीमा हुँदाहुँदै खतिवडालाई अर्थमन्त्री बनाउँदा पार्टीभित्र ओलीको चर्को विरोध हुँदै आएको थियो । करिब अढाइ वर्ष मन्त्रालयमा रहँदा खतिवडा धेरै आलोचना र थोरै मात्रै प्रशंसाका पात्र बने । तर यो अवस्था आउनुमा माफियाहरूले नेकपाका नेताहरूलाई प्रयोग खतिवडाको भनाइ छ ।
‘वामदेव गौतमसँग त म अर्थमन्त्री भएको भोलिपल्टैदेखि आमनेसामने भएको हो,’ खतिवडाको भने , ‘माफियाहरूले नेकपाका नेताहरूलाई प्रयोग गरेर मलाई हटाउने खेल खेले ।’
झन्डै ७ महिनापछि नेकपाको आन्तरिक शक्ति सन्तुलनमा आएको फेरबदल र चर्किएको अन्तरविरोधबीच पार्टीको विवाद मिलाउने नाममा गौतमको राष्ट्रिय सभामा प्रवेश हुन लागेको छ ।रासस