विरगंज । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षासम्बन्धी नियमावली ‘साइबर सेक्युरिटी बाइल, २०२०’ जारी गरेको छ । सेवा प्रदायकहरुलाई साइबर सुरक्षासम्बन्धी मापदण्ड पालनामा जिम्मेवार बनाउन नियमावली ल्याएको प्राधिकरणको भनाइ छ ।
दूरसञ्चार ऐन २०५३ अनुसार स्वीकृत गरी ल्याइएको यो नियमावली प्राधिकरणबाट लाइसेन्स पाएका आधारभूत दूरसञ्चार, टेलिफोन, मोबाइल, इन्टरनेटलगायत सेवा प्रदायकले अनिवार्य रुपमा पालना गर्नुपर्ने बताइएको छ ।
नियमावलीमा साधारण सुरक्षाका मानक र अभ्याससम्बन्धी पूर्वाधार तथा नेटवर्क सुरक्षा, कोर सिस्टमको सुरक्षा, वेब तथा मोबाइल एप्लिकेसन्स, डेटाको गोपनियता तथा सुरक्षा, साइबर सुरक्षाको विषयमा चेतना तथा क्षमता विकासलगायत प्रावधान समेटिएका छन् ।
अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्ड तथा अभ्यास अनुसार साइबर सुरक्षाका विविध मापदण्ड अपनाएर नियमावली तयार गरिएको प्राधिकरणले जनाएको छ ।