स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमले हालसम्म विश्वमा कोरोनाको खोप पूर्ण रुपमा विकास नभइसकेको भन्दै खोप विकास भइसकेपछि समानताका आधारमा सबै देशले खोप पाउनु पर्ने बताएका छन् । धनि र गरिब देशका अधारमा भन्दा पनि समानताका आधारमा खोप पाउनु पर्नेमा सरकारको जोड रहेको उनले बताए ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार उनले विश्वमा हाल कोरोना विरुद्धका ३१ खोप क्लिनिकल ट्रायलमा रहेको बताए । १४२ खोप प्रि– क्लिनिकल ट्रायल (नन् ह्युमन) चरणमा रहेको गौतमले जानकारी दिए ।
९ वटा खोप क्लिनिकल ट्रायलको तेस्रो फेजमा रहेको जानकारी दिँदै उनले तेस्रो फेजको ट्रायलका लागि नेपालले पनि चासो देखाएको बताए ।