वीरगञ्ज। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज रक्तसञ्चार केन्द्र वीरगञ्जलाई ३ सय लिटरको डीप फ्रिजर सहयोग गरेको छ ।वीरगञ्जमा स्थापन हुन् लागेको प्लाज्मा बैङ्क सञ्चालनका लागि नागरिक सरोकार समाज वीरगञ्जको पहलमा उद्योग वाणिज्य सङ्घले रक्तसञ्चार केन्द्रलाई आज डिपी फ्रिजर हस्तान्तरण गरेको हो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया नेतृत्वमा गएको टोलिले केन्द्रका पदाधिकारीहरुलाई फ्रिजर हस्तान्तरण गरेको थियो ।
नारायणी अस्पताल र रक्तसञ्चार केन्द्र वीरगञ्ज बीच प्लाज्मा बैङ्क स्थापना गर्ने सहमति भएको छ । प्लाज्मा बैङ्क स्थापनासँगै नारायणी अस्पतालमा पनि कन्भ्यालिसेन्ट प्लाज्मा थेरापीबाट कोरोनाभाइरस सङ्क्रमितहरुको उपचार सुरु हुने नारायणी अस्पतालका चिकित्सकले बताएका छन् । चिकित्सकहरुले अब प्लाजा डोनर खोजेर रक्त सङ्कलनको कार्य छिट्टै सुरु गर्ने जानकारी समेत गराएका छन् ।
हस्तान्तरण कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपाल, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुर, अस्पतालका वरिष्ठ चिक्तिसक डा. उदय नारायण सिंह, रक्तसञ्चार केन्द्रका धिरेन्द्र झा, नागरिक सरोकार समाजको तर्फबाट वरिष्ठ सञ्चारकर्मी महेश दास, सामाजिक अभियन्ता ओमप्रकास सर्राफ र प्रकाश थारुको उपस्थिति रहेको थियो ।
नागरिक सरोकार समाज वीरगञ्ज र नारायणी अस्त्पालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहको विशेष पहलमा बिहिबार रक्तसञ्चार केन्द्र र अस्पताल बीच प्लाज्मा बैङ्क स्थापना गरी कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी विधिबाट कोरोनाभाइरस सङ्क्रमितहरुको उपचार सुरु गर्न सहमति भएको थियो ।
नेपालमा सम्भवत पहिलो पटक वीरगञ्जमा प्लाज्मा बैङ्क स्थापना हुनलागेको हो । कोरोना सङ्क्रमितहरुको उपचारमा प्लाज्मा थेरेपी धेरै प्रभावकारी देखिएको विज्ञहरुले बताउँदै आएका छन् । विगत एक महिनादेखि नेपालका विभिन्न स्थानमा समेत यो विधिबाट उपचार सुरु भएको छ ।