वीरगंज | सन् २०१९ को मार्च महिनामा मस्जिदहरूमा प्रार्थनाका लागि भेला भएका ५१ जना मुसलमानहरूको हत्या गर्ने आतंकवादीलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । उनलाई परोलमा निस्कने सुविधा समेत दिइएको छैन ।
न्युजील्यान्डको इतिहासमा यति कडा सजाय पाउने उनी पहिलो व्यक्ति हुन् । ब्रेन्टन टारान्ट नामक २९ वर्षीय आतंकवादीलाई बिहीवार सजाय दिइएको हो । क्राइस्टचर्चका दुईवटा मस्जिदमा उनले पुरुष, महिला र बालबालिका गरी ५१ जनाको हत्या गरेका थिए । हत्या गरिएको सबभन्दा सानो बालक जम्मा तीन वर्षका थिए ।
टारान्ट अस्ट्रेलियाका नागरिक हुन् र उनीमाथि आतंकवादको मुद्दा चलाइएको थियो । न्युजील्यान्डमा पहिलोपटक कुनै व्यक्तिमाथि त्यस्तो मुद्दा लगाइएको हो ।
घटनामा मारिएका र घाइते भएका सबै पीडितको नाम न्यायाधीश मान्डरले पढेर सुनाए । ‘तिमीले कुनै दयामाया देखाएनौ । यो दानवीय कार्य थियो, तिमीले अमानवीय काम गर्यौ,’ मान्डरले टारान्टलाई भने ।
क्राइस्टचर्च उच्च अदालतमा चार दिनसम्म लगातार चलेको सुनुवाइपछि बिहीवार फैसला सुनाइएको हो । सुनुवाइका क्रममा पीडितका परिवार तथा घटनामा बाँचेका ९१ जनाले मुसलमान समुदायमा टारान्टले दिएको पीडाको बयान गरे ।
उनीहरूले बोलिरहँदा टारान्ट चुपचाप सुनिरहे । उनीहरूले आक्रोश, घृणा, क्षमा र उदासी व्यक्ति गरिरहँदा उनले कुनै भाव देखाएनन् ।