फरक ठाउँबाट आएका दुई युवती सत्य र मिथ्याको भेट सहर नजिकैको जंगलमा भयो । उनीहरुले एकअर्कामा परिचय गरे । दुवै जवान थिए । दुबै आफ्नै खालका सौन्दर्यले भरिपूर्ण थिए ।
उनीहरु खुबै मिले । एकअर्काका कुरा सुने । सत्य केही लजालु थिई, मिथ्यालाई त्यही कुरा मनपर्यो । मिथ्या खुब बोलिरहने स्वभावकी थिई, सत्यालाई उसको त्यही कुरा मनपर्यो ।
घाम चर्कँदै गएपछि दुवैले नजिकैको तलाऊमा नुहाउने निर्णय गरे । दुबै वस्त्रविहीन भएर हृदय फुकाएर नुहाउन थाले । अचानक मिथ्या तलाऊ बाहिर निस्किई । त्यसपछि उसका कपडा लगाइ र त्यसमाथि सत्याको कपडा लगाएर ऊ भागी ।
सत्या तलाऊ बाहिर निस्कँदा मिथ्या निकै पर पुगेकी देखिई । सत्या नाङ्गै उसको पछाडि दौडिई । बजार नजिकै पुगेपछि मिथ्या कतै अलप भई । सत्या भने नाङ्गै मिथ्यालाई खोज्न थाली ।
मानिसले नाङ्गै कुदिरहेकी सत्यालाई देखेर जिस्क्याए । जवान युवती यसरी नाङ्गै हिँड्दा उसलाई छि छि र दूरदूर गर्न थाले । ऊ लाजले रातोपिरो भएर पुनः जंगलमा फर्कि । यता मिथ्या सत्याको कपडा लगाएर शहरमा सानको जीवन बाँच्न थालेकी छे ।
जुन दिनदेखि सत्य बस्तिबाट हराइ त्यही दिनदेखि सबैतिरको अमन चैन विग्रीएको छ । तर सत्यलाई खोज्ने जाँगर भने कसैले चलाएको देखिदैन ।
हरिण
तिर्खाएको हरिण पानी खान खोलामा झर्यो । पानी खाँदै गर्दा उसले आफ्ना रहरलाग्दा सिंग देख्यो ।
‘आहा, कति रहरलाग्दा मेरा दुबै सिंगहरु । मेरी पोथीले पनि यही सिंग देखेरै मनपराएकी होली ।
उसले आफ्ना खुट्टा हेर्यो । रहरलाग्दो ज्यानमा टाँसिएको खिरिलो खुट्टा उसलाई पटक्कै मनपरेन । ‘मेरा गोडामात्र नराम्रा र साना छन् । उसले सोच्यो, ‘कहाँ राजाले लगाउने श्रीपेज जस्तो सिंंग, कहाँ सिन्के खुट्टा ?
अघिदेखि हरिणलाई पच्छ्याइरहेको भोको सिंहले अचानक ऊमाथि हमला गर्यो । कसो कसो ऊ फुत्कियो । हरिण अघिअघि, सिंह पछिपछि दुबै आफ्नो जीवन बचाउन दौडन थाले । खुला मैदान पार गरेपछि जंगल आयो । जंगल पुग्न लागेपछि हरिणमा बाँच्ने आशा पलायो ।
अचानक एउटा ढलेकेा रुख छेऊबाट पार हुँदै गर्दा हरिणको सिंग रुखको डोड्कामा अड्कियो । सिगं निकाल्ने प्रयास गर्दागर्दै हरिणले सोच्यो, ‘कस्तो हरिलठ्ठक रहेछु । जुन खुट्ालाई नराम्रो सोच्थेँ, त्यसले ज्यान बचाइदियो । जसमाथि गर्व गर्थे, त्यसलै ज्यान लिनेभयो ।