चितवन |चितवनमा थप ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन्। महानगरमा २० महिला र १६ पुरुष गरि ३६ जना संक्रमण पुष्टि भएको छ।
पुरुषहरु ५ वर्षीय बालकदेखि ४६ वर्षीय उमेर समूहका छन् भने महिलाहरु ८ वर्षीया बालिकादेखि ५४ वर्ष सम्मका रहेका छन् । उनीहरु भरतपुर–२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ नम्बर वडाका हुन्।
भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिकाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु रत्ननगर–१, ६ र १३ नम्बर वडाका हुन् ।
पुरानो मेडिकल कलेज र रत्ननगर क्वारेन्टिनबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले भरतपुर अस्पतालबाट स्वाब दिएका थिए। यसैगरि पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा अधिकारीले बताइन्।