वीरगंज | राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा आएको एक सातासम्म पनि ग्रेडसिट छपाइ सुरु गरेको छैन । आवश्यक सामग्री नपाएपछि ग्रेडसिट छपाइ हुन नसकेको हो ।विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको अंकका आधारमा बोर्डले प्रमाणीकरण गरी १ भदौमा नतिजा सार्वजनिक गरेको थियो ।
ग्रेडसिट छाप्ने मेसिनमा रिबन उपलब्ध हुन नसक्दा पौने पाँच लाख विद्यार्थीको ग्रेडसिट छपाइ रोकिएको हो । बोर्डसँग रहेको रिबनबाट लेजरप्रिन्ट गरी नतिजा विद्यालयमा पठाइएको छ । यसअघि नतिजा प्रकाशनसँगै ग्रेडसिट छपाइ गरी विद्यार्थीलाई वितरण हुने गरेको थियो ।
‘राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०’ का परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार धेरै पसल बन्द रहेकाले ग्रेडसिट प्रिन्ट रोकिएको हो । ‘केही दिनमा आउने आश्वासन पाएका छौँ, आउनासाथ प्रिन्ट गर्छौं,’ उनले भने । पहिलेदेखि प्रयास गरे पनि लकडाउन र असहज परिस्थतिका कारण सामग्री अभाव भएको उनको भनाइ छ । परीक्षा नियन्त्रण कार्यालयमा रिबन र पेपर बढी प्रयोग हुन्छ । रिबन तुलनात्मक रूपमा महँगो पनि छ ।
कार्यालयका अनुसार ०७६ को एसइईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले आवेदन दिएका थिए । विद्यालयहरूले परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण पठाएका थिए ।
कोभिड–१९ को जोखिमका कारण परीक्षा लिन सक्ने अवस्था नभएपछि सरकारको निर्णयअनुसार ०७६ को एसइई विद्यालयले नै आन्तरिक मूल्यांकन गरेर पठाएका थिए । र, बोर्डले त्यसैलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेको हो ।