वीरगन्ज ।वीरगन्जमा आइतबार कोरोना संक्रमणका कारण थप १ महिलाको मृत्यु भएको छ।पर्साको बिन्दवासीनी गाउँपालिका ३ इटियाहीकी ७० वर्षीया वृद्धाको नारायणी अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो ।
निमोनियाले ग्रस्त बनेकी महिलाको स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबार दिउसो परिवारले नारायणी अस्पतालमा भर्ना गरेका थिए।उपचारका क्रममा उनको स्वाब संकलन गरेर नारायणी अस्पतालकै प्रयोगशालामा शनिबार परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
कोभिड अस्पतालमा बेड खाली नभएका कारण उनलाई नारायणी अस्पतालकै आइसीयूमा राखेर उपचार गरिरहेका बेला आइतबार बिहान ३ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए।
योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । साउन यतामा मात्रै ३३ जनाको मृत्यु भएको छ । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३७ मध्ये १ जनाको पहिचान खुलेको छैन।