सप्तरी | सप्तरीमा आइतबार दुई स्वास्थ्यकर्मीसहित १० जना संक्रमित थप भएका छन् । गजेन्द्रनारायण सिंह अस्पतालमा सप्तरीको १९० जनाको स्वाब परीक्षण गरिएकोमा १ महिलासहित १० जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
जसमध्ये अस्पतालकै एक स्वास्थ्यकर्मी र गोइठी स्वास्थ्य चौकीमा कार्यरत एक अर्का स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन् । संक्रमित हुनेमा राजविराज नगरपालिका– ५ का ४८ वर्षीय, तिरहुत गाउँपालिका– ४ का २९ वर्षीय, शम्भुनाथ नगरपालिका– ८ का ४१ वर्षीय, तिलाठी कोइलाडी गाउँपालिका– ३ का २५ वर्षीय, महादेवा गाउँपालिका–१ का ३० वर्षीय, वडा नम्बर– ५ का ३९ वर्षीय, खडक नगरपालिका–६ का ४६ वर्षीय, वडा नम्बर–११ का ३३ वर्षीय, वडा नखुलेको २५ वर्षीय पुरुष र बिष्णुपुर गाउँपालिका–१ की ३२ वर्षीया महिला छन् । सिरहाको २५ जनाको समेत आइतबार भएको परीक्षणमा ५ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पताल प्रशासनले जनाएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–१ का ५२ वर्षीया महिला तथा बलान बिहुल गाउँपालिका–१ का २७ वर्षीय र वडा नम्बर–६ का ३८ वर्षीय पुरुषमा शनिबार संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म सप्तरीमा ७२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५१५ जना निको भएका छन् भने २०६ जना उपचाररत छन् । संक्रमितमध्ये ५ पुरुषको मृत्यु भएको छ ।
संक्रमितमध्ये ७९ जना राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेशन केन्द्रमा, ३० जना तिलाठी कोइलाडी–२ लौनियास्थित पबिमाविस्थित आइसोलेशन केन्द्रमा र अरु होम आइसोलेसनमा छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले आइसोलेसनमा रहेका दुई जना संक्रमित पुरुषको अवस्था गम्भिर भएपछि अक्सिजन लगाएर राखिएको बताएका छन् । भेण्टिलेटरको अभावमा स्वास्थ्य स्थिती बिग्रिदै गएपछि शुक्रबार एक महिला र एक पुरुषलाई धरान पठाइएको थियो । संक्रमितसँगै हाल लक्षण भएका विरामीहरुको सङ्ख्या बढन थालेकोमा डाक्टर झाले चिन्ता गरे ।