जासुसीका लागि यसरी प्रयोग गरिन्थ्यो परेवा र डल्फिन
वीरगंज संजाल
३१ भाद्र २०७६, मंगलवार १०:२६
५९८५
वाशिङ्गटन । अमेरिकी खुफिया एजेन्सी सीआईएले शीत युद्धका क्रममा प्रयोग गरिएको खुफिया तरिकाबारेको विवरण सार्वजनिक गरेको छ ।
सीआईएले कसरी परेवालाई तालिम दिएर जासुसीको लागि तयार पारिन्थ्यो भन्ने विवरणसमेत त्यसमा उल्लेख छ । त्यतिबेला परेवालाई सोभियत संघको संवेदनशील क्षेत्रमा पुगेर उनीहरुले गोप्य ढंगले तस्विर खिच्न सकून् भन्ने हिसाबले सिकाइने गरेको थियो । सीआईएले यो पनि भनेको छ कि परेवालाई आफू गएको स्थानको घरको ढोकामा उपकरण राख्नका लागि तालिम समेत दिइन्थ्यो ।
परेवाका अतिरिक्त डल्फिनलाई पनि यस्तो कार्यमा प्रयोग गरिएको थियो । सीआइएले जनावरलाई एजेन्सीको खुफिया मिसनमा राख्दा निकै सहयोग पुगेको थियो । भर्जिनियामा सीआइएको मुख्यालय रहेको छ । त्यसको भित्र एक म्युजियम पनि छ । जसलाई अब आम मानिसको लागि बन्द गरिएको छ ।
बीबीसीमा बेलायती लेखक तथा पत्रकार गोर्डन कोरेराको आलेखमा भनिएको छ– मैले एकपटक सो म्युजियमका निर्देशकसँग अन्तर्वार्ता लिएको थिएँ । त्यतिबेला त्यस ठाउँमा अचम्म लाग्ने खालका कुरा देखेको थिएँ । त्यहाँ एक परेवाको मोडल राखिएको थियो । जसमा एउटा क्यामेरा बाँधिएको थियो । म त्यतिबेला दोस्रो विश्वयुद्ध सम्बन्धी एक पुस्तक लेखिरहेको थिएँ । जसको लागि म बेलायतको तर्फबाट परेवाको प्रयोगको बारेमा जानकारी जुटाइरहेको थिएँ । सीआईएको म्युजियममा परेवामा बाँधेको क्यामेरा देखेर चासो बढेको थियो । त्यो समय अधिकारीहरुले यसबारेमा मलाई धेरै जानकारी दिएनन् । १९७० मा अपरेसनको कोड नाम ‘टकाना’ राखिएको थियो । यो अभियानमा परेवाको प्रयोग तस्बिर खिच्नको लागि भएको थियो ।
परेवालाई खुफिया मिसनमा प्रयोग गर्नुको कारण यसको याद गर्ने क्षमता उच्च कोटीको भएर पनि हो । यसका साथै परेवा निकै आज्ञाकारी पनि हुन्छ । यसलाई कुनै पनि क्षेत्रमा उडाए पनि कैयौं माइल टाढा गएर घर फर्किने गर्दछ । यही कारणले सीआईएले परेवालाई गुप्त मिसनमा प्रयोग गर्ने गरेको थियो । यद्यपि परेवालाई पोस्टम्यानको रुपमा प्रयोग गर्ने गरिएको हजारौं वर्ष पहिलादेखि सुनिँदै आएको हो । यसलाई जासुसीको काममा प्रथम विश्वयुद्धको बेलामा प्रयोग गरिएको थियो ।
दोस्रो विश्वयुद्धमा बेलायती खुफिया विभागको एक ब्रान्च एमआई १४ (डी)ले जासुसी परेवा सर्भिस सुरु गरेको थियो । यो सर्भिसको क्रममा परेवालाई कुनै डिब्बामा राखेर प्यारासुटमा बाँधेर युरोपको आकाशमा छोड्ने गरिन्थ्यो ।
जानकारीअनुसार करिब एकहजार परेवा खुफिया जानकारी लिएर फर्केका थिए । त्यसमा बी १ रकेट लन्च गर्ने स्थान र जर्मन राडार स्टेशनको जानकारी पनि हुन्थ्यो । युद्धपछि बेलायतको खुफिया विभागको संयुक्त कमिटीले परेवाको सब कमिटी बनाएको थियो । यो कमिटीमा शीतयुद्धको क्रममा परेवालाई राम्रो ढंगले प्रयोग गर्ने तयारीका बारेमा छलफल हुने गरेको थियो ।
यद्यपि पछि बेलायतले परेवा सम्बन्धी अधिकांश अभियान बन्द गर्यो । तर, सीआईएले परेवाको क्षमताको पहिचान गरेर त्यसलाई अझ राम्रोसँग प्रयोग गर्ने जनाएको थियो । अपरेसन टकानाका क्रममा केही अन्य जनावरको पनि प्रयोग गरिएको बताइएको छ । सीआईएको फाइलमा जनाइएअनुसार एक कागलाई पनि यसप्रकारको तालिम दिएको थियो ।
त्यसले ४० ग्राम भार भएको वस्तुलाई कुनै भवनको ढोकामा लगेर राख्न सक्थ्यो । एक रातो लेजर लाइटको माध्यमबाट टार्गेटलाई मार्क गरिन्थ्यो । एक खास बत्तीको माध्यमबाट पंक्षी फिर्ता आउने गरेको थियो । एक पटक युरोपमा पनि सीआईएले पंक्षीको माध्यमबाट एक भवनको ढोकामा जासुसी उपकरण राख्न सकेको थियो । यसका साथै सीआईएले पठाएका पंक्षीको माध्यमबाट सोभियत संघले केमिकल हतियारको प्रयोग गरे नगरेको पनि पत्ता लगाउने प्रयास गरेको थियो । यस खालको तालिम कुकुरलाई पनि दिइएको थियो ।
यद्यपि यो बारेमा धेरै जानकारी दिइएको छैन । एक पुरानो रिपोर्टमा जनाइएअनुसार ‘अकाउस्टिक किट्टी’ नामको अपरेसनमा एक बिरालोमा पनि उपकरण जडान गरिएको थियो । त्यसले आवाज सुन्ने र रेकर्ड गर्न सक्थ्यो । १९६० को फाइलमा जनाइएअनुसार सीआईएले दोस्रो देशका बन्दरगाहमा जासुसीको लागि डल्फिनको प्रयोग गरेको थियो । पश्चिमी फ्लोरिडामा दुश्मनको जहाजमा हमलाको लागि डल्फिनलाई तयार पारिएको थियो ।
यसका साथै डल्फिनलाई समुद्रमा न्युक्लियर पनडुब्बीलाई पत्ता लगाउने तरिका पनि सिकाइएको थियो । रेडियो एक्टिभ हतियारलाई पहिचान गर्न सक्ने तरिका पनि त्यतिबेला सिकाइएको थियो । १९६७ मा सीआइएले आफ्नो तीन कार्यक्रममा ६ लाख डलर भन्दा बढी पैसा खर्च गरेको थियो । ती कार्यक्रममा डाल्फिन, पंक्षी, कुकुर र बिरालोको प्रयोगको बारेमा चर्चा गरिएको थियो ।
एक फाइलमा जनाइएअनुसार कनाडाई बाजको प्रयोग खुफिया जानकारी जुटाउनका लागि प्रयोग गरिएको थियो । यसअघि सुगाको प्रजातीलाई पनि प्रयोग गर्ने गरिएको थियो ।
परेवा सबैभन्दा प्रभावशाली
सीआईएले आफ्नो अभियानको लागि थुप्रै जनावर र पंक्षीको प्रयोग गर्ने गरेको थियो । उसले यी मध्ये परेवा सबैभन्दा प्रभावशाली पाइएको थियो । यही कारण १९७० को मध्यमा सीआइएले परेवासँग जोडिएको एक शृंखला नै शुरु गर्यो । परेवालाई दोस्रो अभियानमा पनि सामेल गर्न थालियो । एक परेवालाई जेलको माथि तैनाथ गरियो भने दोस्रोलाई वाशिङटनस्थित नौसेनाको कार्यालयमा राखियो । यो अभियानमा सामेल गर्ने क्यामेराको मूल्य २ हजार डलरसम्म पर्थ्यो । जसको तौल केवल ३५ ग्राम मात्रै हुन्थ्यो । त्यसलाई बाँध्नको लागि जुन वस्तुको प्रयोग गरिन्थ्यो त्यसको तौल ५ ग्राम भन्दा पनि कम थियो ।
परीक्षणबाट थाहा भयो कि परेवाले नौसेनाको कार्यालयबाट १४० तस्बिर लिन सक्यो । जसमा आधा तस्बिर राम्रो गुणस्तरका थिए । यो तस्बिरमा गाडी र मान्छे पनि निकै प्रष्ट देखिएका थिए । विशेषज्ञले यो कुरा पनि थाहा पाएकी सोही क्रममा खुफिया सेटलाइटबाट खिचिएका तस्बिरको गुणस्तर परेवाको प्रयोगबाट खिचिएकाको भन्दा कम गुणस्तर थियो ।
यद्यपि परेवाको प्रयोगमा एक डर यो थियो कि यदि कुनै व्यक्तिलाई शंका भएमा उसले परेवालाई मार्दिन सक्थ्यो र अभियानमा नै अप्ठेरो पर्न सक्थ्यो ।
परेवालाई तत्कालीन सोभियत संघमा छोड्नको लागि निकै गोप्य तरिका अपनाइन्थ्यो । तिनीहरुलाई जहाजमा छिपाएर मस्को लगिन्थ्यो । त्यसपछि आफूले छोड्न चाहेको रणनीतिक महत्वको क्षेत्र नजिकै ती परेवालाई छोडिन्थ्यो । यसैगरी चल्दै गरेको गाडीको झ्यालबाट समेत छोडिन्थ्यो । त्यसपछि परेवालक्षित स्थानमा जान्थे र तालिम अनुसार फर्केर आउने गरेका थिए ।
सेप्टेम्बर १९७६को एक मेमोका अनुसार लेनिनग्रादमा एक समुद्री जहाजलाई निशाना बनाइएको थियो । त्यहाँ सबैभन्दा आधुनिक सोभियत पनडुब्बी तैनाथ हुने गरेका थिए । ती जासुस परेवाले सीआईएलाई के सूचना दिए र त्यो सूचनाबाट के फाइदा भयो भन्ने बारेमा अझै पनि रहस्य नै रहेको छ ।
(बीबीसीमा बेलायती लेखक तथा पत्रकार गोर्डन कोरेराको आलेख)