वीरगंज। केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शुक्रबार देशभर १ सय ४८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार १५ जना भेन्टिलेटरमा र १३३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा छन्। बाग्मती प्रदेशमा ५२ जना आइसियुमा र १५ जना भेन्टिलेटरमा छन्।
त्यस्तै प्रदेश २ मा ४६, प्रदेश ५ मा १३, गण्डकी प्रदेशमा ६ र प्रदेश १ मा १६ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै बिहीबार १ सय ३६ जना, बुधबार १ सय ३७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत थिए।
नेपालमा आइसियुको संख्या ९सय ८४ र भेन्टिलेटरको संख्या ४ सय ९० रहेको मन्त्रालयले जनाएको छ।