वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले हनुमान मन्दिरका पुजारी हत्या गर्ने अपराधीलाई कडाभन्दा कडा सजाय माग गरेको छ ।
घटना पछाडि कुनै आवेग र आक्रोश नभएर धार्मिक साम्प्रदायिक हिंसा फैलाउने बद्नियत रहेको आरोप लगाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले हत्यालाई हिन्दु धर्ममाथिको योजनावद्ध प्रहार भएको ठहर गरेको छ ।
अपराधीलाई चाँडोभन्दा चाँडो गिरफ्तार गरी, गम्भीर भएर कानुनबमोजिम सजाय गर्न समेत सरकारसँग उक्त संगठनले माग गरेको छ । माधवनारयण नगरपालिका २, रौतहट, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको खाना खाइरहेको अवस्थामा भदौं ३ बेलुकी गोली प्रहार गरी हत्या गरिएको थियो ।
‘उक्त गम्भिर अपराधिक घटनाको घोर निन्दा एवम् भत्र्सना गर्दै निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।
साथै नेपाल सरकारलाई यो कुरामा गम्भिर हुन आग्रह गर्दछु,’ राप्रविसं (संयुक्त) का अध्यक्ष धनसुर शाहीले शुक्रबार जारी विज्ञप्तिमा भनेका छन् । ‘जुन राष्ट्रले साधु सन्तको जीवन रक्षा गर्न सक्दैन, त्यो राष्ट्र पतन भएर जाने निश्चित हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थी संगठनले अपराधिलाई छिटोभन्दा छिटो पक्राउ गरी कारवाही गर्न र मृतकलाई अविलम्ब धार्मिक सहिद घोषणा गर्न माग गरेको छ । मृतक पुजारीको आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।