वीरगंज | प्रदेश २ को सीमा सुरक्षामा खटिएका एपीएफका खेलाडीमा कोरोना संक्रमण देखिएको छ । सीमा सुरक्षाका लागि पठाएकामध्ये कतिपयमा कोरोना संक्रमण देखिएको एपीएफ अस्पताल बलम्बु स्रोतले जनाएको छ ।
१३औँं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएका, तर पदकविहीन एपीएफका खेलाडीलाई सीमा सुरक्षामा खटाइएको थियो । जेठ १९ गते एक महिनाका लागि एपीएफले ८२ खेलाडीलाई सीमा सुरक्षाका लागि खटाएको थियो ।
ड्युटीमा खटिएका खेलाडी यही साता मात्रै काठमाडौं फर्किएका थिए । काठमाडौं फर्किएका सबैलाई क्वारेन्टिनमा राखिएको थियो । कीर्तिपुरको नीलबाराही गणको क्वारेन्टिनमा रहेका २० जनामा र गुह्येश्वरी गणमा रहेका १६ खेलाडीमा कोरोना देखिएको हो ।
अब एपीएफमा कोरोना संक्रमित खेलाडीको सख्या ३९ पुगेको छ । यसअघि एपीएफका तीनजना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।
“कोरोनाको महामारीलाई मध्यनजर गर्दै हामीले तराईका क्षेत्रहरूमा ८२ खेलाडीलाई खटाएका थियौं । खेलाडीहरू काठमाडौं फर्किसकेपछि कोरोना परीक्षण गर्दा हालसम्म ३९ जनामा संक्रमण देखिएको छ,” एपीएफका एक अधिकारीले भने ।
खेलाडीहरू प्रदेश २ का सिरहा, सप्तरी, बारा, पर्सा, धनुषामा खटिएका थिए । यसअघि एपीएफका ३ खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो ।