बीरगन्ज । बीरगन्जमा थप एक जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।नारायणी काेभिड अस्पताल बीरगन्ज हेल्थ केयरमा उपचाररत रहेकाे एक जना वृद्धकाे बिहीबार साँझ मृत्यु भएकाे हाे ।
मृत्यु हुने बीरगन्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चौकका बासिन्दा हुन् । कोरोना पुष्टि भएपछि उनलाई बुधबार कोभिड विशेष अस्पताल बीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको अस्पतालका चिकित्सक डा. दीपक कुश्वाहले जानकारी दिए ।
क्षयरोग, मधुमेह, थाईराइड र उच्च रक्तचापको पुराना रोगी उनमा ज्वरो, खोकीका साथै निमोनियाको समस्या देखिएपछि ७४ वर्षीय वृद्धलाई भदौं २ गते मंगलबार नारायणी हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ उनको स्वाब परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि हिजो साँझ बीरगन्ज हेल्थ केयर ल्याइएको कुश्वाहले बताए ।
अस्पतालमा ल्याउँदा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको डा. कुश्वाहले बताए । उनलाई ल्याउन बितिकै आइसीयुमा राखेर अक्सिजन चढाउँनु परेको उनले जानकारी दिए ।
उनको मृत्युसँगै पर्सामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउँनेको संख्या बढेर २५ पुगेको छ । जिल्लामा अहिलेसम्म १६ सय भन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।