वीरगञ्ज। केही समयअघि शिक्षा मन्त्रालयले १ भाद्रबाट विद्यालय भर्ना अभियान सुरु गर्ने र १५ भाद्रदेखि पठनपाठन सुरु गर्ने भनेको थियो । विभिन्न तहमा रोकिएका परीक्षा सञ्चालन गर्नका लागि शिक्षा मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन पनि दिएको थियो । तर, एकाएक काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चौतर्फी निराशा छाएको छ ।
शैक्षिक गतिविधि सञ्चालन हुन नसक्ने परिस्थिति बलियो बन्दै छ । सरकारले अनलाइन कक्षालाई आधार बनाएर शैक्षिक सत्र खेर जान दिन नहुने आशय व्यक्त गरेता पनि यस वर्षको शैक्षिक सत्र खेर जाने सम्भावना बढ्दै गएको देखिन्छ किनभने ठूलो संख्याका विद्यार्थी अनलाइन सिकाइबाट वञ्चित भएको स्थितिमा राज्यको भनाइ र वास्तविकता फरक छ । शैक्षिक सत्र खेर जान नदिने हो भने अब अन्य विकल्प अपनाउनुपर्दछ ।
विश्वइतिहासमा हुने गरेका महामारीको अध्ययनले कतिपय रोगको अन्त्य हुन वर्षौं लाग्ने गरेको तथ्यांक छ । अहिलेसम्म कतिपय रोगको औषधि नै पत्ता लागि सकेको अवस्था छैन । कोरोना विषाणुको औषधि बनाउनको लागि विश्वजगत्का वैज्ञानिक प्रयासरत छन् । भर्खरै रसियाले कोरोनाविरुद्घको भ्याक्सिन बनाएको समाचार त आएको छ । यसको प्रभाव पछि नै थाहा होला ।
अहिलेसम्म कोरोना महामारीबाट सुरक्षित हुन सकिने उपाय भनेको सामाजिक दूरी र व्यक्तिगत होसियारी नै रहेको विज्ञको सल्लाह छ । यो रोगको निदान गर्न विकसित देशले पनि सकेका छैनन् । कोरोना महामारीले सबै क्षेत्रमा ठूलो हानिनोक्सानी पु¥यााइरहेको त छ नै । अझै शिक्षा क्षेत्र अन्योलग्रस्त भएको छ । यसरी हेर्दा पछिल्लो समयमा शिक्षा क्षेत्रमा चुनौती झन् थपिँदै गएको देखिन्छ ।
अहिले लाखौंको संख्यामा विद्यार्थी शिक्षालयको औपचारिक अध्ययनबाट वञ्चित छन् । रोकिएका परीक्षा कहिले सञ्चालन हुने होलान् ? शिक्षालय कहिले खुल्लान् ? शैक्षिक क्यालेन्डर नै फरिने हो कि ? हाम्रो पढाइ एक वर्ष ढिला हुने पो हो कि ? आदि÷इत्यादि मानसिक तनावले बालबालिका निराश भएका छन् ।
अभिभावक पनि छोरोछारीको पढाइलेखाइप्रति चिन्तित छन् । त्यसो त सरकारले शिक्षालय खोल्ने अवस्था नभएपछि १ आसारदेखि वैकल्पिक शिक्षाका अनलाइन कक्षा सञ्चालन गरेको छ । तथापि, अनलाइन शिक्षणसिकाइ प्रभावकारी बन्न नसकेको तथ्यांकले पुष्टि गरेका छन् । यस्तो अवस्थामा अब के गर्ने ? सबैका अगाडि ठूलो प्रश्नचिह्न खडा भएको छ । यस्तो जटिल परिस्थितिमा राज्यले जाँचबुझका साथ शिक्षाक्षेत्रका समस्या समाधान गर्ने उपायको खोजीमा लाग्न जरुरी देखिन्छ ।
अभिभावक, शिक्षक एवं सरोकारवालाले कलिला बालबालिकालाई निराश हुनबाट जोगाउन सकारात्मक भूमिका खेलौं
शिक्षा क्षेत्रका समस्याको बारेमा समाजमा विभिन्न विचार प्रवाह हुने गरेका छन् । कतिपय मानिसले यस अवस्थामा पहिलो प्राथमिकता बालबालिकालाई सुरक्षित राख्नु हो । बाँचे ढिला नै भए पनि पठनपाठन गर्ने दिन आउँछन् भन्ने गरेको पाइन्छ । विज्ञहरूले पठनपाठनको वैकल्पिक उपाय अवलम्बन गरेर शिक्षा क्षेत्रलाई चलायमान बनाउनुपर्ने मत राखेको पाइन्छ । कतिपय विद्यालयले चौरमा राखेर शिक्षण सिकाइलाई सञ्चालन गरेका समाचार पनि आउने गरेका छन् ।
कतिपय ठाउँमा खुलेका विद्यालय पनि कोरोनाको संक्रमण देखिएकाले बन्द भएको अवस्था छ । उल्लिखित परिस्थितिमा राज्यको मात्र आलोचना गरेर समस्याको समाधान हुन सक्ने अवस्था छैन । बरु ७ सय ५३ स्थानीय तहमा महामारीको अवस्था उस्तै छैन । कतिपय जिल्ला कोरोनामुक्त पनि भइसकेका छन् । यसर्थ कोरोना नभएकाका ठाउँमा राज्यले निर्माण गरेको कार्यविधिको अनिवार्य रूपले पालना गरी शिक्षालय सञ्चालन गरिनुपर्दछ । राज्यले राजधानी र केही तराईका सहरमा बढ्दै गएको कोरोना महामारीको त्रासमा देशभरि नै पठनपाठन बन्द गर्नु वुद्धिमानी होइन ।
अहिले लाखौंको संख्यामा विद्यालय शिक्षादेखि उच्च तहसम्मका शिक्षार्थी पढाइबाट वञ्चित मात्र भएका छैनन्, उनीहरू सामाजिकीकरणको प्रक्रिया, साथीभाइसँगको सामूहिक अन्तक्र्रिया, शैक्षिक वातावरण, रमाइलोपन एवं गुरुजनको निर्देशन र निगरानीबाट पनि टुटेका छन् । छुटेका छन् । नियमित पढाइलेखाइको अभ्यासबाट विच्छेद भएका छन् ।
त्यसैले भिन्नउमेर समूहका विद्यार्थीहरू निराश भएका छन् । यसर्थ राज्य, अभिभावक, शिक्षक, विज्ञ, शिक्षाविद्, चिन्तक एवं मनोविद्लगायत सरोकारवालाले आआप्mनो ठाउँबाट उनीहरूलाई विचलित मनोविज्ञानबाट जोगाउन आवश्यक छ । सकारात्मक मनोपरामर्शको खाँचो छ । पारिवारिक माया एवं सल्लाहको आवश्यकता छ । सुनिश्चित भविष्य र आशाको सञ्चार गराउन जरुरी छ ।
शैक्षिक संस्था सञ्चालन गर्नका लागि आधिकारिक संस्था राज्य भएकाले सरकारको मुख ताकिरहेको अवस्था छ । सरकारले भने शिक्षा क्षेत्र र यससँग जोडिएका समस्याको समाधानमा पर्याप्त कसरत गरेको देखिँदैन । अब शैक्षिक सत्रलाई वैशाख महिना नै मान्ने अवस्था टर्दै गएको छ । शैक्षिक क्यालेन्डर फेर्नुपर्ने आवश्यकता देखिन थालेको छ ।
शिक्षण सिकाइ खरायो गतिमा दौडाइ कोर्स मात्र सिध्याउने नीति पनि व्यावहारिक हुँदैन । शिक्षणसिकाइको सम्बन्ध हेड, हार्ट र हयान्डसँग फ्युजन हुनुपर्दछ । पाठ्यक्रमलाई छोट्याएर अहिलेको मापदण्डअनुसार न्यूनतम २ सय २० दिन शिक्षालय सञ्चालन गर्नुपर्ने अवस्थालाई हेरफेर गर्दा यसको तत्कालीन र दीर्घकालीन असरको बारेमा पनि सोच्नुपर्ने हुन्छ । तसर्थ, राज्यले शिक्षा क्षेत्रलाई प्रशासनिक दृष्टिकोणले मात्र हेर्नुहुँदैन ।
अहिले शिक्षा क्षेत्रमा तमाम समस्या देखापरेका छन् । एकातिर शैक्षिक सत्र सुरु गरी पठनपाठनलाई अगाडि बढाउन वातावरणको सिर्जना कसरी गर्न सकिन्छ भन्ने ठूलो चुनौती छ भने अर्कोतिर शैक्षिक सत्र पूरा भई परीक्षाको प्रतीक्षामा बसेका लाखौंको संख्याका विद्यार्थीको परीक्षा सञ्चालनको कुरा त्यत्तिकै चुनौती छ ।
राज्यले समस्या बखान गरेर लकडाउन खुलेपछि सबै कुराको समाधान हुन्छ भन्ने चिन्तनमा लाग्नु उचित हुँदैन । कोभिडको महामारीको अन्त्य कुरेर बस्ने कि यसको बीचमा सुरक्षित उपपाय अवलम्बन गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने ? हाम्रा अगाडि ठूलो चुनौती खडा भएको छ । निष्कर्ष निकाल्न त्यति सहज देखिँदैन ।
अहिले सरकारको कामकाजप्रति नागरिक आक्रोशित छन् । अहिले कोरोना महामारीको नियन्त्रणमा सरकार चुकिरहेका समाचार आइरहेका छन् भने सरकारका गतिविधिले शिक्षा क्षेत्रमा झन् चुनौती बढिरहेको छ । केही समयअगाडि स्थगित परीक्षा हुने समाचारसँगै परीक्षार्थीमा सकारात्मक मनोविज्ञानको सिर्जना भएको थियो ।
उनीहरू मानसिक रूपमा पढाइलेखाइप्रति लगनशील हुन थालेका थिए । परन्तु, काठमाडौंमा कोरोना महामारीको बढ्दो ग्राफसँगै सरकारले अर्को निर्णय नभएसम्म शिक्षालय सञ्चालन हुन नसक्ने भने सबैमा निराशा बढेको छ ।
लामो समयको लकडाउनका पछिल्ला दिनमा शिक्षा क्षेत्रको बहस भइरहँदा लेखक, विचारक, बुद्धिजीवी, विज्ञहरूको अन्तक्र्रियालगायत शिक्षासबन्धी लेख, रचना, बहस एवं विमर्शले समग्र शिक्षालाई रचनात्मक एवं सकारात्मक बनाउन महŒवपूर्ण भूमिका खेलेको भए तापनि कोरोनाको रोगथाममा सरकार चुक्दै गएपछि यसको मारमा शिक्षाक्षेत्र परेको छ ।
यस सन्दर्भमा कोरोना महामारीलाई रोक्नका लागि राज्य र नागरिकको संयुक्त पहलकदमी आवश्यक ठानिन्छ । अहिले सत्तारूढ पार्टी ताली पिट्ने र राज्यको कमजोरीमा बंगारा किट्नेको चक्रव्यूहमा रुमलिएको छ । यसको असर प्रत्यक्ष वा परोक्ष रूपमा शिक्षा क्षेत्रमा झाँगिदै गएको देखिन्छ ।
अन्त्यमा, अहिलेको नयाँ पुस्ता सोसियल मेडियासँग अत्यन्त नजिक छ । विद्यालय तहदेखि विश्वविद्यालयसम्मका शिक्षार्थीलाई सोसियल मेडियामा आउने नकारात्मक वा सकारात्मक समाचारले प्रभाव पारिरहेका हुन्छन् । यस सन्दर्भमा अहिलेको असाधारण परिस्थितिमा शिक्षा क्षेत्रमा बढ्दै गइरहेको चुनौतीलाई सामना गर्न राज्यले जिम्मेवार भएर काम गरोस् ।
अभिभावक, शिक्षक एवं सरोकारवालाले आआप्mनो ठाउँबाट समाजका कलिला बालबालिका एवं किशोरकिशारीलाई निराशाबाट जोगाउँँदै उनीहरूलाई सकारात्मक बनाउन महŒवपूर्ण भूमिका खेलौं । शैक्षिक सत्र खेर जान नदिने दिशामा काम गरौं ।