धनकुटा | धनकुटामा दुई बालिका बलात्कृत भएका छन् । पाँच दिनभित्र दुई बालिकामाथि बलात्कार भएको हो ।बलात्कार गरेको आरोपमा दुईजना युवालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
धनकुटा नगरपालिका–८ की १० वर्षीया बालिकालाई ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा सोही स्थानका २२ वर्षीय दुल कुमार राईलाई पक्राउ गरी जिल्ला अदालत धनकुटामा जबरजस्ती करणी अन्तर्गतको मुद्दा दायर गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।
साउन ३१ गते दिउँसो बलात्कार गरी फरार रहेका राईलाई पीडितको आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले बताएको छ ।
त्यस्तै धनकुटा नगरपालिका–२ की एक १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका–१ का १९ वर्षीय निकेश तामाङ (तितुङ) लाई पनि प्रहरीले पक्राउ गरी जिल्ला अदालत धनकुटामा जबरजस्ती करणी अन्तर्गतको मुद्दा दायर गरेको छ ।
साउन २७ गते बालिकालाई बलात्कार गरी फरार रहेका तामाङलाई भदौ ३ गते पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको एसपी अधिकारीले बताए । घटना पश्चात् फरार भई विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका तामाङलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धानको लागि अदालतबाट एकहप्ताको म्याद थप गरेको छ । उनलाई पीडितको आफन्तले दिएको उजुरीको आधारमा खोजतलास गरी पक्राउ गरेको थियो ।