एजेन्सी । माइक्रोसफ्ट कम्पनीले आगामी सेप्टेम्बर १० मा आफ्नो पहिलो एन्ड्रोइड फोन, ‘सर्फेस डुओ’ लन्च गरिने सम्बन्धी बुधबार घोषणा गरेको छ । तर यतिबेला सर्फेस डुओको मूल्य, झन्डै १४ सय डलर रहेको विषय सबैभन्दा बढी चर्चामा आइरहेको छ जुन आइफोन ११ म्याक्स भन्दा महङ्गो हुनेछ ।
यसरी बढी मूल्य भएकै कारण यसलाई खरिद गर्न मानिसहरुको भीड नलाग्ने निश्चित छ तर यो फोन यति महङ्गो हुनुका पछाडि कम्पनीले विभिन्न कारणहरु देखाएको छ ।
जस्तै पहिले त यो डुअल–स्क्रिन अर्थात दुईवटा स्क्रिन भएको डिभाइस हो । माइक्रोसफ्टले यो फोनलाई मोबाइल जगत्मा नयाँ स्वरुपको सुरुवात भनेर व्याख्या गरेको छ ।
सामान्य रुपमा हेर्दा यो फोल्ड गर्न मिल्ने ट्याब्लेट जस्तो पनि देखिन्छ । यसका दुईवटै स्क्रिनको डिस्प्ले ५.६ इन्च रहेको छ जुन फोल्ड नगर्दा ८.१ इन्चको सिङ्गो डिस्प्ले हुन्छ । त्यस्तै यसको क्यामराले भने चार हजार रिजोलुसनको भिडियो रेकर्डिङ समेत सपोर्ट गर्दछ ।
त्यसैले पनि यसलाई फरक भर्जनको फोल्ड हुने मिनी–आइप्याड भनिएको छ । सो भनाइले पनि यसको १४ सय डलरको मूल्य स्पष्ट पार्दछ । यो फोनलाई एकदम सजिलोसँग किताब जस्तैगरि खोल्न र बन्द गर्न सकिन्छ । त्यस्तै यो एकदमै पातलो पनि छ भने फोन स्क्रिनहरुमा अहिलेसम्मकै उच्च गुणस्तरको स्क्रिन भएको बताइएको छ ।
माइक्रोसफ्टले यो नयाँ डिभाइसलाई उत्पाकत्व बढाउने मेसिनका रुपमा पनि प्रचार गरिरहेको छ । यसको विशेष फिचर भनेको माइक्रोसफ्ट सफ्टवेयर जस्तै अफिस, विन्डोज चलाउने सँगै, यस मार्फत भिडियो कल पनि गर्न सकिन्छ जुन अहिलेको अवस्थामा अधिक महत्वपूर्ण संचार माध्यम बन्न पुगेको छ ।
यसरी सर्फेस आगामी बुधबारदेखि नै प्रि–अर्डरका लागि उपलब्ध हुने बताइएको छ । पछिल्लो समय फोल्ड गर्न मिल्ने फोनले विभिन्न चुनौति झेलिरहेका छन् तर त्यसका वावजुद ग्यालेक्सी फोल्ड, ग्यालेक्सी जी फ्लिप, हुवावेको मेट एक्स र ओप्पोको रेनो १० एक्स जुम बजारमा विक्री भइरहेका छन् । यस्तोमा माइक्रोसफ्टको पहिलो एन्ड्रोइड फोनले पनि ग्राहकहरुलाई सन्तुष्ट गराउने अपेक्षा गरिएको छ । सिएनएन