राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
उनले कोरोना भाइरसले गर्दा विश्व आक्रान्त बनेका बताउँदै भने, ‘विश्वका विभिन्न मुलुकहरू कोरोना भाइरसको भ्याक्सिनको खोजिमा लागिरहेका छन्। हालै रुसमा यसको सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको छ।’
सो अवसरमा उनले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गरे । त्यसैगरी अध्यक्ष तिमिल्सिनाले रुसमा रहेका नेपाली समुदायको यस कठिन परिस्थितमा पनि ख्याल राखेकोमा रसियन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।
उनले रसियाले चिकित्सा, इन्जिनियरिङ, औद्योगिक जस्ता क्षेत्रहरूमा सीपयुक्त जनशक्ति विकासमा पुर्याउँदै आएको सहयोग तथा यी क्षेत्रहरूमा दिँदै आएको छात्रवृत्तिले नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताए ।
भेटका क्रममा राजदूत नोभिकभले नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनादेखि सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताएका थिए । उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताए ।
‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्वबजारमा आउनेछ। नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,’ राजदूत नोभिकभले भने । उनले नेपालको पर्यटन प्रबर्द्धन तथा रसियन पर्यटकको संख्या बृद्धि गर्न काठमाडौं-मस्को नियमित हवाई उडान सुरु गर्न सकिने धारणा राखेका थिए ।