वीरगंज। प्रदेश २ मा पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको संख्या करिब दुइ सय बढीको दरले बढिरहेको छ भने संक्रमणबाट मृतकको संख्या समेत ४७ पुगेको छ |कोरोना भाइरस संक्रमणले प्रदेश २ अक्रान्त भएको छ ।
जटिल प्रकृतिका संक्रमितको संख्या समेत बढ्दै गएको छ । ती जटिल प्रकृतिका संक्रमितलाई आइसियु र भेन्टिलटर अति आवश्यक देखिएको छ ।संक्रमितलाई आवश्यक परेको बेला भेन्टिलेटरै नपाएर समेत धनुषामा कोरोना भाइरस संक्रमितको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।
भेन्टिलेटर लगायतका अन्य भौतिक पुर्वाधार तथा उपकरण नहुँदा कतिपय बिरामीको मृत्यु भएको डाक्टरले समेत स्वीकार गर्दै आएका छन् । तर भेन्टिलेटर हुँदाहुँदै पनि प्रदेश तथा स्थायनीय सरकारले यस विषयमा आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा अनाहकमै संक्रमितको मृत्यु हुने जोखिम बढेको छ ।
कोरोना संक्रमितको उपचारका लागि महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान गरिएको छ । तर, भेन्टिलेटर सेवा सञ्चालन गर्नका लागि जनशक्तिको अभावले भेन्टिलेर संचालन हुन सकेको छैन् ।
मुख्यमन्त्री लालबाबु राउत गद्दी नेतृत्वको प्रदेश सरकारको सहयोगमा जलेश्वर अस्पतालमा पाँचवटा भेन्टिलेटर जडान गरिएको हो ।
अहिले यो अस्पताल कोरोना संक्रमितको उपचारका लागि कोभिड– १९ विशेष अस्पतालका रूपमा प्रयोग भइरहेको छ । एक सय शय्याको जलेश्वर अस्पतालमा अहिले ४२ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । उनीहरूमध्ये चारजनामा कोरोनाको लक्षण देखिएको अस्पतालले जनाएको छ ।YATRA DAILY