वीरगंज | नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षा सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन बुँदे मापदण्ड तोकेको छ।
मन्त्रालयले उक्त मापदण्ड पुरा गरेर मात्र परीक्षा सञ्चालनका लागि सहमित दिएको छ।
मन्त्रालयले परीक्षा सञ्चालन गर्दा मन्त्रालयले जारी गरेको मापदण्डको पालना गर्ने व्यवस्था काउन्सिलले मिलाउने, परीक्षामा सहभागि विद्यार्थीहरुको संख्या संक्रमणको जोखिम अनुसार छरितो र सानो बनाउने र कोभिड-१९ को प्रोटोकल अनुरुप माक्स सेनिटाइजर जस्ता आवश्यक सामग्री काउन्सिल आफैँले व्यवस्था गरी परीक्षार्थीलाई दिने वा परीक्षार्थीले ल्याउने विषय अनिवार्य रुपले पालना गर्ने मापदण्ड तोकेको छ।
काउन्सिलले यही भदौ ७ देखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। तर परीक्षा कसरी र कुन रुपमा सञ्चालन गर्ने भन्ने विषयमा काउन्सिलमा अझै छलफल जारी रहेको बताइएको छ। काउन्सिलले यसका लागि विद्यार्थीको विवरण माग गरेको छ। विद्यार्थीलाई ३ दिनभित्र विवरण पठाउन काउन्सिलले सार्वजनिक सूचना जारी गरेको छ।
विद्यार्थीको विवरण प्राप्त भएपछि परीक्षा केन्द्रिकृत वा विकेन्द्रीकृत गर्ने भन्ने विषयमा टुंगो लाग्ने काउन्सिलका एक सदस्यले जानकारी दिए।