बीरगन्ज | पर्साको बीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाका गरी ९२ जनामा संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए ।
नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि गत साउन २७ गते एघार सयभन्दा बढी स्वाब परिक्षणको लागि काठमाडौं पठाइएको थियो ।
विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएकोमा आईतबार साँझ रिपोट प्राप्त भएको हो ।
बीरगन्ज महानगरपालिकाका ३८ जनामा संक्रमणको पुष्टि भएको छ । गत साउन २६ गते बीरगन्ज– ११ श्रीपुरमा गरिएको स्वाब संकलन गराएका मध्ये ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलन गराएका व्यक्तिहरुमध्ये २७ जनामा कोरोना पुष्टि भएको हो ।आइतबार साँझ प्राप्त रिपोर्टअनुसार पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ ।
पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित उनको परिवारका ८ जना, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेमा एक जना पत्रकार पनि छन् ।
पोखरिया नगरपालिकाका एक वडा अध्यक्षमा संक्रमण पुष्टि भएपछि गत साउन २६ गते मेयर रौनियारसहति उनी निकटका व्यक्तिहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको थियो ।त्यस्तै, जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उक्त गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो ।यसैगरी, सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँ साउन २६ मा स्वाब संकलन गरिएको थियो ।
सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादवसहित ४ स्वास्थ्यकर्मी र अन्य एक जना रहेको गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले बताए ।उनका अनुसार संक्रमित हुनेमा २ महिला स्वास्थ्यकर्मी पनि रहेका छन् ।
एक जना लखनपुर स्वास्थ्य चौकीका इन्चार्ज हुन भने एक जना महुवन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हुन् । २ पुरुष स्वास्थ्यकर्मीमा पनि एक जना महुवन र एक जना लखनपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।यस्तै, संक्रमित हुनेमा वडा नं. ४ देउरवाना एक जना पुरुष पनि रहेको स्वास्थ्य संयोजक रौनियारले जानकारी गराए ।