वीरगंज। कोरोना भाइरसबाट एकै दिन २२ सुरक्षाकर्मीसहित २७ जना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबार गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले सदरमुकाम राजविराज ८ स्थित २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर–सम्पर्क कार्यालय राजविराजका २२ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
यस्तै शनिबारै प्राप्त पिसिआर परिक्षण रिपोर्टले राजविराज नगरपालि ६ की ६५ वर्षीया एक महिला, डाक्नेश्वरी नगरपालिका ३ का ४४ वर्षीय पुरुष तथा कंचनरुप नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ६७ पुगेको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका राजविराज ६ की ६५ वर्षीया महिला कोरोना संक्रमणबाट चार दिनअघि मृत्यु भएका ७५ वर्षीय बेचुलाल साहकी पत्नी हुन् ।
यता एकै दिन २२ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भएपछि उनीहरु कार्यरत प्रहरी तालिम केन्द्रमा आवश्यक सुरक्षा सतकर्ता बढाइएको छ । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेशनमा ल्याउने तयारीका साथै उनीहरुका सम्पर्कमा आएकाहरुको पहिचान तथा स्वाब संकलन कार्य समेत अघि बढाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यता कोरोनाको जोखिमलाई ध्यानमा राख्दै गत साउन ८ गतेदेखि जिल्लामा जारी गरिएको निषेधाज्ञा शनिबार पनि जारी छ । भदौं २ गतेसम्मका लागि जारी निषेधाज्ञाबारे आगामी बस्ने बैठकमा समिक्षा गरी थपघट गर्ने विषयमा आवश्यक निर्णय लिने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।एम के माझी