मोरङ | कोरोना भाइरसको आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका विपरीत यहाँका अस्पतालहरुको सेवा बन्द गरिएको छ । निर्देशिकाले तोके बमोजिमका आइसोलेसनसमेत यहाँका अस्पतालहरुले निर्माण गरेका छैनन् ।अस्पतालमा संक्रमित देखिने बित्तिकै सेवा बन्द गरेर अस्पताल सिल गरिँदा बिरामीहरु उपचारका लागि भौतारिन बाध्य छन् ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, न्यूरो अस्पताल, गोल्डेन अस्पताल, मोरङ सहकारीलगायतका अस्पतालहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।
कोसी अस्पतालले पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि साउन १६ गतेदेखि १९ गतेसम्म चार दिन ओपीडी सेवा बन्द गरेको थियो । विराटनगर महानगरले नै विराट नर्सिङ होममा संक्रमित देखिएपछि ११ दिन सिल गरेको थियो । अस्पतालहरुले ओपीडी सेवा बन्द गरेपछि बिरामीहरु निजी क्लिनिकमा उपचार गराउन बाध्य छन् ।बीपी प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले प्रतिष्ठान परिसरमा संक्रमित देखिएकाले अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन ओपीडी सेवा बन्द गरिएको बताए ।
नोबेल अस्पतालका नारायण दाहालले अस्पतालमा कार्यरत ९ जना चिकित्सकमा संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरेको बताए । अस्पतालका चिकित्सकमै संक्रमण देखिएपछि विराटनगर महानगर र प्रदेश १ का सामाजिक विकास मन्त्रालयसँग सल्लाह गरेरै सेवा बन्द गरेको दाहालको भनाइ छ ।
न्यूरो अस्पतालका निर्देशक राजेश भट्टराईले महानगरमा समुदायस्तरमै संक्रमण फैलिएको र अस्पताल सञ्चालन गर्दा अनावश्यक भिडभाड हुने गरेकाले संक्रमण फैलिन नदिनका लागि ओपीडी सेवा बन्द गरेको दाबी गरे । अहिले संक्रमण देखिएपछि मुलुकभरिकै अस्पतालहरुले सिल गरेर सेवा बन्द गर्दै आएकाले आफ्नो अस्पतालमा पनि संक्रमित देखिएकाले केही दिन सिल गरेको भट्टराईको भनाइ छ ।
नोबेल, न्यूरोलगायतका केही अस्पतालले आइसोलेसन वार्ड सञ्चालन गरेको भए पनि अन्य अस्पतालहरुले आइसोलेसन वार्ड निर्माण गरि सञ्चालनमा ल्याएका छैनन् । विराट नर्सिङ होमका पदम विनाडीले ६ वटा आईसीयूसहितको ४० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । विराट शिक्षण अस्पतालमा आइसोलेसनको व्यवस्थापन हुन सकेको छैन ।
प्रदेश २ को महोत्तरीदेखि पूर्वका सबै जिल्लाबाट उपचारका लागि आउने बिरामी अहिले उपचार नपाएर समस्या परेको महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक सञ्जय ठाकुरले बताए । ‘निर्देशिकामा भएको व्यवस्था अनुसार अस्पतालहरुले सेवा सञ्चालन गर्नु आवश्यक छ,’ उनले भने, ‘अस्पतालहरुले सेवा सञ्चालन नगरे उपचार अभावमै बिरामीको मृत्यु हुने अवस्था सृजना भएको छ ।’
निर्देशिकाको २ (४) को (क) मा स्वास्थ्य संस्थाहरुमा नियमित सेवाहरु कुनैपनि कारणले अवरुद्ध वा संस्था सिल गर्न पाइने छैन । प्रि–आइसोलेसन वार्ड वा नियमित सेवा दिने युनिटमा कुनै व्यक्ति कोभिड पोजिटिभ देखिएमा २ घण्टा भित्रमा उक्त स्थानलाई उचित सामग्रीको प्रयोग गरि डिस्इन्फेक्टेन्ड गर्ने र अविलम्ब पुन: सेवा सुचारु गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।
निर्देशिकाको २ (१) को (क) मा हरेक अस्पतालको मुख्य प्रवेशद्वारमा स्क्रिनिङ प्वाइन्ट राखि तापक्रम र अन्य स्वास्थ्य जानकारी लिइ बिरामीलाई हरियो र पहेंलो समूहमा वर्गीकरण गरि कार्ड दिने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ । यस्तै, हरियो कार्ड भएका सेवाग्राहीलाई नियमित सेवा युनिटमा सेवा लिन र पहेंलो कार्ड भएका सेवाग्राहीलाई प्रि आइसोलेसन वार्डमा कोभिड स्क्रिनिङका लागि पठाउने व्यवस्था उल्लेख छ । तर त्यो अनुसार यहाँका अस्पतालहरुले हरियो र पहेंलो कार्डको व्यवस्था गरी समहूमा वर्गीकरण गर्ने व्यवस्था गरेका छैनन् ।
यस्तै, निर्देशिकाको २ (१) को (ख) मा हरेक अस्पतालले कोभिड १९ का संक्रमित व्यवस्थापन गर्न छुट्टै आइसोलेसन वार्ड बनाउनु पर्ने र त्यसमा सुरक्षाकर्मी राख्नु पर्ने उल्लेख छ । तर यहाँका अधिकांश निजी अस्पतालले आइसोलेसनको व्यवस्था गरेका छैनन् ।
विराटनगर महानगर प्रमुख भीम पराजुलीले निर्देशिकामा भएको व्यवस्था कार्यान्वयनका लागि यहाँका अस्पतालहरुलाई निर्देशन दिएको दाबी गरे । उनले अस्पतालहरुको सेवा सुचारु रहे नरहेको बारे अनुगमन गर्ने व्यवस्था मिलाउन नसकेको बताए ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले उक्त निर्देशिकामा सेवा बन्द गर्न नपाउने व्यवस्था उल्लेख रहे पनि निर्देशिका कार्यान्वयन नभएको स्वीकारे । उनले स्वास्थ्य कार्यालयहरुको नियमन स्थानीय तह र सामाजिक विकास मन्त्रालय मातहत रहेकाले आफूले यस बारेमा थप केही भन्न नसक्ने बताए ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले कोभिड बाहेक अन्य रोगबाट सर्वसाधारणमा स्वास्थ्य जोखिम रहेकाले अस्पतालहरुले दिइरहेका सेवा बन्द गर्न नपाइने बताए । सुरुमा उक्त निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्न केही अलमल भएको तर अब त्यसको कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।
kantipur