वीरगंज । प्रदेश २ मा कोरोना लागेर थप दुई जनाको मृत्यु भएको छ भने दुई दिन अगाडि मृत्यु भएको एक जनामा समेत कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
शुक्रबार कोरोना लागेर मृत्यु हुनेहरुमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ घर भएका ५० वर्षीय पुरुष र सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष छन् ।
त्यस्तै, दुई दिन अगाडि मृत्यु भएको सर्लाही जिल्लाकी ६५ वर्षीया एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएका नयाँ संक्रमित धनुषामा बढी
प्रदेशमै पहिलो पटक संक्रमण पुष्टि भएको पर्सा जिल्ला सुरुदेखि नै संक्रमित संख्याको आधारमा अगाडि थियो । मुलुककै सबैभन्दा चल्तीमा रहेको वीरगंज-रक्सौल नाकाको कारण पर्सामा संक्रमण दर बढेको बताइएको थियो । शुक्रबार भने प्रदेशको अस्थायी मुकाम रहेको जिल्ला धनुषामा सर्वाधिक संख्यामा नयाँ संक्रमित देखिएका छन् ।
धनुषामा मात्रै ११ जना महिलासमेत ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो समेत धनुषामा कुल संक्रमितको संख्या ९९० पुगेको छ । शुक्रबार पुष्टि भएका नयाँ संक्रमितहरुमा जनकपुरस्थित प्रादेशिक अस्पतालका चार जना महिलासमेत ११ जना र नगरको विभिन्न वडाका ९ जना छन् ।
त्यस्तै, जानकी हेल्थ केयरका पाँच जना, जिल्ला स्वास्थ्य कार्यालय, धनुषाका छ जना, मुक्तिनाथ बैंक जनकपुर शाखाका तीन जना, मिथिला नगरपालिकाकाका छ जना, लक्ष्मीनियाँ गाउँपालिकाका तीन जनासहित विभिन्न पालिकामा घर भएकाहरुमा संक्रमण पुष्टि भएको हो ।
सिरहामा एक जना, महोत्तरीमा २० जना, बारामा २० जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना र सप्तरीमा २१ जनागरी कुल शुक्रबार यस प्रदेशमा १९९ जना संक्रमितको पुष्टि भएको हो ।
शुक्रबार जम्मा ४८ जना डिस्चार्ज भएको मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।