वीरगञ्ज | अत्यावस्यक बाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा, सेमिनार बैठक, भेला गर्ने कार्यहरु नगर्ने र नगराउने निर्णय समेत सरकारले गरेको छ। धार्मिकस्थलमा दैनिक नित्य पूजा बाहेक अन्य कुनै गतिविधि नगर्ने निर्णय समेत गरेको छ। दैनिक उपभोग्य लगायतका वस्तु लगायत पुर्वाधार निर्माणमा आवस्यक सामग्री ढुवानी गर्दा चालक सहचालक तथा अन्य व्यक्तिले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना नगरेको देखिएकोले मास्क स्यानिटाइजर जस्ता न्यूनतम सामग्रीहरुको पालना गर्नुपर्ने र नगरेमा तत्काल कारबाही गर्ने निर्णय समेत गरेको छ।
शैक्षिक संस्थाहरु, सभा, गोष्ठी, तालिम, सिनेमा हल, डान्स बार, सैलुन, ब्युटी पार्लर, स्वीमिङपुल, खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, धार्मिक र समाजिक स्थान, चिडियाखाना, पुस्तकालय निषेधकै अवस्थामा रहेको र सम्बन्धित मन्त्रालयबाट अनुगमन गरी मापदण्ड उलङ्घन गर्नेहरुलाई कारबाही गर्ने निर्णय समेत सरकारले गरेको छ। काठमाडौं उपत्यकाका ३ जिल्लाभित्र आवतजावत गर्ने बाहेक कोभिड १९ को सक्रिय संक्रमितको संख्या २ सय भन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा ‘जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र’ तथा स्थानीय प्रशासनको अनुमतिमा बाहेक आवतजावत नगर्ने नगराउने अत्यावश्यक कामका लागि मात्रै अनुमति प्रदान गर्ने र अनुमति प्रदान गर्दा प्रयोजन खुलाई यात्रा गर्ने व्यक्तिको नाम समावेस गरी अनुमतिपत्र जारी गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ।
फुटपाथ खुल्ला ठाउँमा सञ्चालन भइरहेका ठेलागाडा साइकलमा गरिका व्यापार, तरकारी, फलफुल, खाद्यान्न, लत्ताकपडा लगायतका खुद्रा व्यापार व्यवसाय एवं कवाडी संकलन जस्ता कार्य जथाभावी रुपमा सञ्चालन हुन नदिने र त्यो कार्यलाई सम्बन्धित स्थानीय प्रशासनले निषेध गर्ने निर्णय समेत गरेको छ। उद्योग कलकारखाना व्यवसाय गर्ने सञ्चालकले उद्योग कलकारखाना तथा सार्वजनिक निजी निर्माणको परिसर भित्रै सुरक्षित रुपमा श्रमिक लगायतको जनशक्तिलाई व्यवस्थापन गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय समेत गरेको छ।
नेपाली कुटनैतिक नियोगको सिफारिसमा ३ सय जना र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २ सय जना नेपाली नागरिक समेत दैनिक कुल ५ सय जनाको संख्यामा नबढ्ने गरी उडान अनुमति दिने निर्णय समेत गरेको छ। उडानबाट आउने व्यक्तिहरुलाई काठमाडौं उपत्यकामा नै तोकिएका स्थानमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने र संक्रमण मुक्त भएको यकिन भएपछि मात्र सम्बन्धित गन्तव्यमा पठाउने व्यवस्था गर्ने निर्णय समेत गरेको छ। यसरी आउने मानिसहरुको क्वारेन्टाइनमा बसेको ५ देखि ७ दिन भित्र पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने भएको छ।