जनकपुर । धनुषाको जनकपुरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।
डा. सिंहले अनलाइनखबरसँग भने,‘उहाँको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । गएराति डेथ भयो ।’ उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहले जानकारी दिए ।उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।