वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीस्थित् अयोध्यापूरीमा राममन्दिर बनाउन निर्देशन दिएका छन्।शनिबार आफूलाई भेट्न बालुवाटार पुगेका माडीका जनप्रतिनिधिसँग ओलीले भगवान रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापूरी रहेको दोहोर्याएका थिए।
ओलीले यसअघि पनि भगवान रामको वास्तविक जन्मभूमि नेपालमा रहेको बताएका थिए। माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालसहित स्थानीय जनप्रतिनिधिलाई ओलीले भव्य मेलाको तयारी गर्न निर्देशन दिएका छन्।
ओलीले माडी नगरपालिकाको नाम नै परिवर्तन गरेर अयोध्यापुरी बनाउन पनि भनेका छन्। त्यसका लागि सहमति जुटाउनुपर्ने उनकाे भनाइ थियाे।जनप्रतिनिधिको टोली चितवन राष्ट्रिय निकुञ्जको कुसुम खोला छउमा चेपाङ बस्तीमा गरिएको आगजनीको विषय लिएर प्रमकहाँ पुगेका थिए।