रौतहट । कोरोना परीक्षण नगरी अन्तेष्टि गरिएका वडा अध्यक्षको परिवारमा ४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन । परीक्षण नगरी अन्तेष्टि गरिएका इशनाथ नगरपालिका ५ वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको परिवारमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो | दुई सातादेखि रुधाखोकीसँगै ज्वरो आएर बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नसिँग होममा लैजाँदै गर्दा गत १९ गते बिहान बाटोमै मृत्यु भएको थियो ।
कोरोनाको हटस्पोट बनेको ईशनाथकै मृतक वडाध्यक्ष रहेको भए पनि परिवारका मानिसको जिद्दीको कारण उनको परीक्षण हुनसकेन |उनमा कोरोना संक्रमण हुनसक्ने आशंका गरिएको थियो । मृत्यु भएको ३ दिनअघि ठाकुरको आरडिटी रिपोर्ट निगेटिभ आउँदा उनको स्वाब संकलन गर्न परिवारका मानिस न मानेको नगर स्वास्थ संयोजक ईस्राफिल खांनले जानकारी दिए ।
अन्तेष्टि लगत्तै उनको परिवारको स्वाब संकलन गरि पठाएकोमा आज आएको रिपोर्टमा ४ जना संक्रमित देखिएका छन् । शुक्रबार मृतक देवेन्द्र ठाकुरको श्रीमति, छोरा , छोरी लगायत ४ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ संयोजक खानले जानकारी दिए ।संक्रमितहरु अहिले घरमै छन् । उपचारको लागि पठाउने र उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी कार्य भइरहेको स्वास्थ संयोजक ईस्राफिल खानले बताए । समुदायमा संक्रमित भेटिएसँगै रौतहटमा कोरोना परीक्षण मा तीव्रता दिइएको छ ।