बीरगञ्ज | कोरोना संक्रमितको खानामा किरा फेला परेपछि संक्रमितहरुले आइसोलेशनमा तोडफोड गरेका छन्। सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आईसोलेसनमा कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव उत्पन्न भएको छ।
खानामा किरा भेटेपछि गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा रहेका संक्रमितहरु आक्रोशित हुँदै आइसोलेसनका टेवुलकुर्सी समेत तोडफोड गरेका छन् भने भोक हडतालमा समेत बसेका छन्।किरा भएको खाना झन रोगी बनाउने भन्दै आफुहरु भोक हड्तालमा बसेको आइसोलेसनमा बसेका एक संक्रमितले बताए।
उनका अनुसार पटक–पटक गुनासो गर्दा पनि अस्पताल व्यवस्थापन पक्षले कुनै चासो दिएन्। मेयर, सांसद र मन्त्रीहरु संक्रमित भएपछि आ–आफ्नो सुविधाको हिसाबले कोही काठमाण्डौमा त कोही घरमै आइसोलेसनमा बसेका छन्। तर, सर्वसाधारण जनतालाई आइसोलेसनमा भेडाबाख्रा जस्तै व्यवहार सहनु परेको उनको भनाई छ । सो आइसोलेसनमा १० वर्ष मुनिका बालबालिकाहरु पनि छन्।
आइसोलेशनमा पानीको समेतको राम्रो व्यवस्था नगरिएको उनले बताए।कोरोना संक्रमित आक्रोशित युवकहरुले तोडफोड गरेपछि तनाव उत्पन्न हुँदा आईसोलेसनमा खटेका स्वास्थ्यकर्मी र अस्पतालको व्यवस्थापकीय टोली आईसोलेसन छाडेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत कुमार झाले बताए।