वीरगन्ज | वीरगन्जको छपकैयामा पहिलो पटक २०७६ चैत २९ गते ३ भारतीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । एक समुदाय विशेषका उनीहरू धार्मिक यात्राका क्रममा नेपाल आइपुगेका थिए । घर फर्किनु अघि पीसीआर परीक्षण गराएका उनीहरूको नतिजा पोजेटिभ आएको थियो । त्यसयता उकालो लागेको कोरोना संक्रमितको ग्राफ असार मध्यतिर आइपुग्दा निकै घटेको थियो । दैनिक पहिचान हुने संक्रमितको संख्या घटेर दुई अंकभन्दा पनि कममा आइपुगेको थियो ।
लकडाउन हटेसँगै संक्रमण बढ्यो
लकडाउन अवधिमा किट अभावको कारण पटक–पटक वीरगन्जमा पीसीआर परीक्षण प्रभावित हुँदै आएको थियो । तर ४ महिना लामो लकडाउन हटेसँगै पीसीआर परीक्षणको दर पनि बढ्यो । यसले वीरगन्जमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिइसकेको डरलाग्दो तथ्यांक पनि सार्वजनिक गर्न थाल्यो । साउन लागे यता दैनिक जसो पीसीआर परीक्षणको नतिजा सार्वजनिक हुँदा ५० भन्दा बढी संक्रमित थपिएको नतिजा देखाउँछ । बढ्दो संक्रमण र दैनिक मृत्यु हुनेको संख्या पनि थपिँदै जाँदा जिल्लाबासीमा त्रास पनि बढ्दो छ ।
मेयर र सांसद पनि संक्रमित
सर्वसाधारण मात्र नभई जिल्लामा हाइ प्रोफाइल तथा उच्च पदस्थ व्यक्तिहरूमा संक्रमण हुने क्रम पनि बढेको छ । साउनको तेस्रो साताको मध्यतिर वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगी र जिल्लाका संसदीय क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव पनि संक्रमित हुन पुगे । उनीहरू पटक–पटक संक्रमितको उपचार तथा व्यवस्थापन कार्यमा जुटेका थिए । मेयर सरावगी हाल राजधानीमा उपचाररत छन् ।
आइतबार सार्वजनिक भएको नतिजा अनुसार जिल्लामा आइतबार ४५ नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका अनुसार मेयर सरावगीकी पत्नी र छोरीमा पनि संक्रमण पुष्टि भएको छ । कुल परीक्षण गराउनेमध्ये करिब २० प्रतिशतमा संक्रमण देखिने गरेको छ ।
संक्रमितको मृत्युपछि शवको सद्गतमा समस्या
कोरोना संक्रमणका कारण मृत्यु भएकाहरूको शवको सदगतमा पनि समस्या हुन थालेको छ । शुक्रबार राति वीरगन्ज ३१ बेल्वामा स्थानीयले ३ मृतक संक्रमितको शवको सदगत गर्न लग्दा बाटोमा अवरोध मात्र गरेनन् शव बोकेको सेनाको टोलीमाथि ढुंगामुढा समेत गरे । स्थितिलाई नियन्त्रणमा लिन नेपाल तथा सशस्त्र प्रहरीले हवाई फायरसँगै बल नै प्रयोग पनि गर्नुपरेको थियो । त्यस क्रममा ७ सुरक्षाकर्मी घाइते पनि भए ।
कोरोना संक्रमित मृतकको शवको सदगत गर्ने जिम्मेवारी बोकेको नेपाली सेना पनि अन्योलमा छ । वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका प्रमुख कर्नेल मदनजंग राणा पटक–पटक यसरी मृतकको शवको सदगत गर्दा स्थानीयले अवरोध गर्ने गरेकाले समस्या भइरहेको बताउँछन् ।
यसअघि पनि वीरगन्ज ३१ बेल्वास्थित भेडाहा खोलामा २ संक्रमित महिलाहरूको शवको सदगत गर्न खोज्दा स्थानीयले व्यापक विरोध गरेका थिए । त्यसैगरी वीरगन्जकै तिलाबे खोलामा आदर्शनगरका ६० वर्षीय व्यवसायीको शवको सदगत गर्दा खोला पारीको गाउँ बिन्दवासिनी बर्वाबासीले पनि चर्को विरोध जनाएका थिए । शव जहाँ लगे पनि स्थानीयले विरोध गर्ने गरेकाले यो समस्याको दीर्घकालीन समाधान गरिनु आवश्यक रहेको उनको बुझाइ छ ।