डा. रामकेवल साह सदस्य, कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रदेश २ विज्ञ समूह
प्रदेश २ का ८ वटै जिल्लामा भारतसँग खुला सीमा छ । भारतको बिहारमा कोरोना संक्रमण उच्च दरमा फैलिरहेको छ । त्यसको असर प्रदेश २ मा पर्नु स्वाभाविकै हो । ठूलो संख्यामा संक्रमित बढ्दा कन्ट्याक्ट ट्रेसिङ र उपचार पनि आवश्यकताअनुसार सम्भव देखिन्न । सामाजिक दूरी भनाइमा मात्रै छ अहिले । प्रदेश २ मा कोरोना रोकथामका लागि लकडाउन नै एक उपाय हो, निषेधाज्ञाले मात्रै हुन्न । पूर्ण लकडाउन नै अनिवार्य छ ।
प्रदेशमा बढिरहेको संक्रमणको अवस्था हेर्दा तत्काल भेन्टिलेटरसहितको अस्पताल तयारी गर्नु आवश्यक छ । करिब ५० बेडको भेन्टिलेटर यहाँ आवश्यक छ । पहिलो र दोस्रो स्टेजमा समान्यजस्तै लक्षण देखापरे पनि अहिले कोरोना भाइरस लक्षणसहित देखिएर मृत्यु हुने दर पनि बढेको छ ।
सरकारले तोकेको मापदण्डअनुसारको लेभल–२ अस्पताल काठमाडौंबाहिर धरानमा मात्र छ । प्रदेश २ का चार अस्पतालमा भेन्टिलेटर सेवा तत्काल सुरुवात गर्न नीतिगत व्यवस्था, जनशक्ति र स्रोतसाधन व्यवस्थापन आवश्यक छ । भेन्टिलेटरका लागि जनशक्ति प्रदेश सरकारको स्तरबाट सम्भव देखिँदैन । स्वास्थ्योपचार व्यवस्थापनको अवस्थामा सुधार ल्याउन सरकारले अस्पतालको स्तरोन्नति गरेर पीसीआर परीक्षण प्रभावकारी बनाउनुपर्छ ।