वीरगञ्ज। धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बलात्कृत भएकी छन् ।नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।
पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनको खोजतलास भएको थियो । तर राइनले ती युवतीलाई बिहान ३ बजेतिर घर छोड्न आएपछि घटना बाहिरिएको हो ।युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । कुटपिटबाट युवक घाइते भएका छन् ।
स्थानीयले जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।‘युवक र युवतीको स्वास्थ्य परीक्षणसँगै युवकको उपचार पनि त्यहीं भइरहेको छ’ उनले भने । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक नायकले बताए ।